धरान: कोरोना संक्रमण भएर होम आइसोलेसनमा बसेकाहरुलाई आवश्यक स्वास्थ्य परामर्श तथा समन्वय गर्न धरान उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरुको टोली खटाएको छ ।

स्वास्थ्य महाशाखा अन्तर्गत कार्यरत २१ जनाको टोलीलाई होम आइसोलेसनमा रहेकाहरुलाई समन्वय तथा परामर्शको लागि उपमहानगरपालिकाले खटाएको हो । दिनहुँ संक्रमण दर बढ्दै गएको धरानमा होम आइसोलेसनमा बस्ने संख्या अत्यधिक छ । त्यसैले उनीहरुलाई समन्वय तथा परामर्श दिनको लागि उपमहानगरले स्वास्थ्यकर्मीहरु खटाएको हो । आज (बिहिबार) उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिम समेत दिएको थियो ।

उपमहानगरपालिकाका सुचना अधिकृत खगेन्द्र खतिवडाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्रदान गरिदै आएको सेवालाई समेत समन्वय गर्ने गरि टोली खटाइएको हो । ‘उहाँहरुले होम आइसोलेसनमा रहेकाहरुलाई फोनबाट सम्पर्क गरेर खापिन, सरसफाई, स्वास्थ्यबारे बुझ्ने र परामर्श दिने काम गर्नुहुनेछ,’खतिवडाले भने,‘अवस्था अनुसार डाक्टरकै परामर्श चाहिदा पनि संक्रमित र डाक्टरबीचमा सम्पर्क गराउन भुमिका खेल्नेछन् ।’

उपमहानगरपालिकाले स्वास्थ्यकर्मीहरुलाई विभिन्न वडा विभागजन गरेर जिम्मा लगाइदिएको छ । उनीहरुले आफ्नो जिम्मामा पाएको वडाका होम आइसोलेसनमा बसेकाहरुसँग नियमित सम्पर्क र सहकार्य गर्नेछन् । संक्रमित व्यक्तिहरुलाई दिइने परामर्शमा एकरुपता होस् भनेर तालिम दिइएको उपमहानगरपालिकाले जनाएको छ ।

health-a

bp-help