धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पताल र आइसोलेसनमा कार्यरत स्टाफ नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।
कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ड्युटी पश्चात क्वारेन्टिनमा नराख्ने, खाना नदिने र पिसिआर पनि नगर्ने भनेपछि स्टाफ नर्ससहित स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका हुन् । स्टाफ नर्सहरुले क्वारेन्टिनस्थल दिल्ली पब्लिक स्कुलको क्वारेन्टिनमा धर्ना दिइरहेका छन् । नर्सहरु आन्दोलनमा गएपछि कोभिड अस्पतालमा विरामीको उपचार प्रभावित छ । कोभिड अस्पतालमा अहिले कोही पनि नर्सहरु ड्युटीमा छैनन् । नर्सहरु आन्दोलनमा गएपछि कोभिड अस्पतालमा भर्ना गर्न उर्लाबारीबाट ल्याएका एक विरामी झण्डै एक घण्टादेखि कोभिड अस्पतालको आँगनमै छन् ।
आन्दोलनमा उत्रिएका नर्सहरुले ज्यान जोखिममा राखेर ड्युटी गरेपनि भोली आइतबारदेखि क्वारेन्टिनमा नराख्ने, खान र खाजा नदिने भनेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । घरबाटै डिउटीमा आउन भन्ने निर्देशन आएको भन्दै आइसोलेसनमा खटिएकी सिनियर अनमी आरती लामाले भनिन्,‘आजसम्म चै खाना मिलाउने रे, भोलीदेखि घरबाटै डिउटीमा आउनु भन्ने आयो । यसरी त हाम्रो घर परिवारमा नै जोखिम भयो ।’
अर्का, स्टाफ नर्स मञ्जु अधिकारीले पनि ज्यान जोखिममा राखेर ड्युटी गर्नेहरुलाई प्रोत्साहन गर्नुपर्नेमा झन् मानसिक पीडा दिएको बताइन् । उनले भनिन्,‘मोटिभेसन केही नै भएन । भत्ता पनि पाइएको छैन । यसरी त कसरी काम गर्न सकिन्छ ?’ नर्सहरु आन्दोलनमा उत्रिए पछि मेट्रोन गायत्री राई सम्झाउन पुगे पनि आन्दोलन जारी रहेको थियो ।