धरान: हिजो बुलका सास फेर्न गाह्रो भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएका धरानका एक व्यक्तिको मृत्यु भएको छ ।

धरान १३ का ५३ बर्षीय पुरुषको हिजो प्रतिष्ठानमा मृत्यु भएको हो । उनको शुक्रबार पिसिआर गरिए पनि रिपोर्ट आइसकेको छैन । तर, मृतकको लक्षणहरु कोरोनाको देखिएकोले सोही अनुसार शव व्यवस्थापनको तयारी गरिएको उपमहानगरपालिकाले जनाएको छ । स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार मृतकलाई ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षणहरु देखिएको थियो । लक्षण देखिएपछि शुक्रबार वीपीमा गएर स्वाब दिएका थिए । घरमा आराम गरिरहेको बेला हिजो सास फेर्न गाह्रो भएपछि उनलाई प्रतिष्ठान लगिएको थियो ।

मृतकको शवलाई उपमहानगरपालिका आफैले व्यवस्थापन गर्ने पनि मेहताले जनकारी दिए । ‘रिपोर्ट नआएपनि लक्षणहरु सबै सतप्रतिशत भएकोले नगरपालिकाले व्यवस्थापन गर्नेछ,’उनले भने । रिपोर्ट पोजेटिभ नआइसकेको हुनाले सेनाले भने शव व्यवस्थापन नगर्ने उनले बताए । यस्तै, धरान वडा नं १५ मा पनि एक महिलाको हिजो विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइए पनि विस्तृत जानकारी आइसकेको छैन । मृतकको जानकारी संकलन गर्ने काम भइरहेको मेहताले बताए ।