धरान: प्रदेश १ को विभिन्न जिल्लामा आज दिउँसो भएको दुर्घटनामा परि १० जना घाइते भएका छन् । ती मध्ये ३ जना गम्भीर घाइते भएको इटहरीस्थित प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक कार्यालयका अनुसार यी दुर्घटनाहरु सोलु, मोरङ, उदयपुर र सुनसरी जिल्लामा भएको हो । बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्मको दुर्घटनाको तथ्यांक भएके पनि कार्यालयको भनाई छ । सोलुमा प्रहरी गस्तीको मोटरसाइकल दुर्घटना हुँदा २ जना सामान्य घाइते भएका छन् । सोलुखुम्बुको खुम्बुपासाङ ल्हमु गाउँपालिका १ बुप्सास्थित प्रचौ खरीखोलाबाट गस्ती गएर फर्कने क्रममा मोटरसाइकल ढुंगामा ठोक्किएर दुर्घटना भएको थियो ।

मोटरसाइकल सडकबाट करिब २५० मिटर तल खस्दा प्रहरी चौकी खरीखोला युनिट इञ्चार्ज प्रहरी हवल्दार दिपककुमार भुजेल र प्रहरी जवान चालक राजेन्द्रप्रसाद यादव घाइते भएका छन् । ती मध्ये भुजेलको बाँया करङमा र दाहिने हातमा चोट छ भने यादव सामान्य छन् । दुवैको प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिएको थियो । घाइते हवल्दार भुजेललाई जिल्ला अस्पताल फाप्लु पठाइएको पनि प्रहरीले जनाएकोछ ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका ३ नम्बर वडा कार्यालय अगाडिको भित्री सडकमा को २५ प १७७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर विजुलीको पोलमा ठोक्किदा एक जना गम्भीर घाइते भएका छन् भने अर्का सामान्य छन् । ट्राफिक प्रहरीका अनुसार चालक २५ बर्षीय अर्जुन कामतको शरिरको विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर भएकाले नोबेल अस्पतालमा उपचारको लागि पठाइएको छ । पछाडि सवार १८ बर्षीय विकास कामत सामान्य घाइते छन् ।

यस्तै, उर्लाबारीको नगरपालिका ९ स्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण जादै गरेको अनटेष्ट टेम्पो दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अनटेष्ट टेम्पो अनियन्त्रित भएर दुर्घटना हुँदा रतुवामाई ८ का ४९ बर्षीय नैनबहादुर खुलाल सामान्य छन् भने ३८ बर्षीय असोरा खुलाल सामान्य घाइते भएर उर्लाबारीको गोदावारी अस्पताल पठाइएको प्रहरीले जनाएको छ । चालकको सवारी चालक अनुमति पत्र नभएको पनि प्रहरीको भनाई छ ।

यसैगरि, उदयपुरमा स्कुटर र टेम्पो आपसमा ठक्कर लागेर दुर्घटना हुँदा २ जना गम्भीर घाइते छन् भने १ जना सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । बेलका नगरपालिका ४ मदन भण्डारी सडकखण्डमा पुर्वबाट पश्चिम आउदै गरेको स १ ह ३०३५ नम्बरको टेम्पो र विपरीत दिशाबाट जादै गरेको को २६ प १९२१ नम्बरको स्कुटर एकापसमा ठोक्किएको थियो । उक्त दुर्घटनाा स्कुटर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका ९ का ३४ बर्षीय रोहित राना र सवार २६ बर्षीया सुमनकुमारी चौधरी गम्भीर घाइते भएका छन् । दुवैलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । टेम्पोमा सवार बेलका ९ का २१ बर्षीय केशव बिक भने सामान्य रहेको र स्थानीय मेडिकमा उपचार भएको थियो ।

पुर्वपश्चिम राजमार्गमा पर्ने सुनसरीको कोशी गाउँपालिका ४ मा पश्चिमबाट पुर्वतर्फ जादै गरेको स ३ प २८७२ नम्बरको मोटरसाइकलले सडक किनारा पार्किङ गरेको सिटी सफारीलार्य ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चलाक मोरङको विराटनगर ३ का ५० बर्षीय जीव्न दाहाल र श्रीमति ४० बर्षीय राधा फुँयाल घाइते भएका छन् । दुवैको खुट्टामा गम्भीर चोट लागेर घाइते भएकोले जिल्ला अस्पतालमा उपचारको लागि पठाइएको पनि प्रहरीले जनाएको छ ।