धरान: भूपू ब्रिटिश गोर्खा सैनिकहरुको हक अधिकारको लागि भएको आन्दोलनका प्रमुख योद्धा एवं सामाजिक, राजनीतिक अभियन्ता गजेन्द्र इस्वोको निधन भएको छ ।

इस्वोको उपचारको क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा आज बिहान निधन भएको हो । इस्वो केही बर्षदेखि छालाको क्यान्सरको उपचार गराइरहेका थिए । सुगरको पनि विरामी रहेका इस्वोलाई पछिल्लो समय कोरोना संक्रमण पनि भएको थियो । स्वर्गीय इस्वोलाई भूपू गोर्खा सैनिकहरुको आन्दोलनको प्रमुख योद्धा हुन् । ब्रुनाईमा हकअधिकारको आन्दोलन गर्दा ११ जनालाई जागिरबाट हटाइएको थियो, ती मध्येमा इस्वो पनि थिए । ब्रुनाईबाट आउदा उनलाई मण्डेला भन्ने गरेको स्मरण गर्छन्, भूपू गोर्खा सैनिक रमेश राई । उनी इस्वोबारे भन्छन्,'आफ्नो अधिकार खोज्ने मान्छे, सामाजिक र राजनैतिकरुपमा सचेत एक अभियन्ता हो । आफ्नो अधिकारबारे सबैलाई सजग गराउदै लड्ने मान्छे ।'

नेपालमा भएको भूपू गोर्खा सैनिकहरुको आन्दोलनलाई लामो समय गेसो सुनसरीको नेतृत्वमा रहेर इस्वोले हाँकेका थिए । धरानको विकास निर्माणमा लाहुरेहरुलाई सहभागिता गराउन पनि उनको महत्वपुर्ण योगदान रहेको छ । उनी आदिबासी जनजातिहरुको राजनैतिक अधिकारकोलागि पनि लड्ने अभियन्ता थिए । पछिल्लो समय जनता समाजवादी पार्टीको लिम्बुवान राष्ट्रिय प्रदेश समितिको उपाध्यक्ष रहेका थिए भने गएको धरानको मेयरको उपनिर्वाचनमा समाजवादी पार्टीबाट मेयरको उम्मेदवार पनि भएका थिए । इस्वोले भुपु सैनिकहरुको गेसो, सहकारी, गोर्खा कम्प्लेक्स, गोर्खा पार्कको स्थापना र सञ्चालनको नेतृत्व गरेका थिए ।