धरान: सूर्यको उपासना गरि मनाइने छठ पर्व आजदेखि शुरु भएको छ ।

बिशेष गरि तराई एवं मिथिला क्षेत्रमा चार दिनसम्म धुमधामका साथ छठ पर्व मनाउने गरिन्छ । पर्वको मुख्य षष्ठी तिथिका दिन निराहार व्रत बसेर साँझ पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ दिइन्छ । त्यसबेला विभिन्न मिष्ठान्न परिकार तथा फलफुलहरुका सामग्री सूर्यलाई देखाइन्छ ।
पर्वको अन्तिम सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व विधिवतरुपमा समापन हुन्छ ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्दा मनोकामना पुरा हुने, सन्तान सुख हुने र रोगव्याधी नलाग्ने जनविश्वास छ । विगतमा तराई क्षेत्रमा मात्र सिमित रहेको यो पर्व हिजोआज पहाडी मुलका नेपालीहरुले पनि मनाउने गरेका छन् । त्यसैले छठ पर्व सद्भाव तथा साझा पर्वकोरुपमा विकास भएको छ ।

घर आँगनमा नै छठ मनाइने

xat

विश्वव्यापी बनेको कोभिड १९ को कारण यसपाली नेपालको चाडपर्वहरु पनि प्रभावित भए । दशैं र तिहार विगतमा जस्तो धुमधामको साथ मनाउने अवस्था भएन । सुनसरी जिल्लालगायत अधिकांश ठाउँमा प्रशासनले निषेधाज्ञा जारी गरेपछि तिहारमा देउसी भैलो पनि खेलिएन ।

छठ पर्वलाई पनि कोभिड १९ ले प्रभावित पारेको छ । प्रशासनले निषेधाज्ञा जारी गर्दा नदी, तलाउलगायत स्थानमा भेला नहुन भनेको छ । यसले गर्दा यसपाली छठ घरआँगनमा नै मनाउनुपर्ने अवस्था बनेको छ । विगतका बर्षहरुमा धरानको सेउती र सर्दु खोला किनारमा छठको लागि भव्य तयारी हुन्थ्यो । यसपाली भने त्यस्तो तयारी गर्न नदिइने प्रशासनले जनाएको छ ।