धरान: भारतको असम राज्यमा तत्कालिन समयमा पृथकतावादी आन्दोलन चलाइरहेको एक समुहका नेता एवं सैन्य कमाण्डरलाई धरानबाट किर्ते नागरिकता निकाल्न भुमिका खेलेका एक व्यक्ति कारागार चलान भएका छन् ।

धरान ८ का ६१ बर्षीय सन्तोष तामाङ लामालाई प्रहरीले पक्राउ गरि कैद भुक्तान गर्न क्षेत्रीय कारागार कार्यालय झुम्का पठाएको हो । जिल्ला अदालत सुनसरीबाट उनलाई किर्ते नागरिकतामा कैद फैसला गरेकोले सोही अनुसार पक्राउ गरेर पठाएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले बताए । उनले भने, जिल्ला अदालतबाट मुद्दाको फैसला भएको तर कैद तथा गरिवाना असुल हुन बाँकी प्रतिवादीहरुलाई पक्राउ गरे आज अदालत पेश गरेर भुक्तान गर्न कारागार पठाइएको छ ।’ तामाङलाई जिल्ला अदालत सुनसरीले ९ महिना १३ दिन कैद हुने फैसला सुनाएको थियो ।

असममा सक्रिय पृथकतावादी समुह दिमा हालिम दाओग(जे) का सैन्य कमाण्डर निरञ्जन होजाईले २०६३ मंसिर २८ गते धरान ८ बाट निर्मल राईको नाममा नागरिकता(किर्ते) झिकेका थिए । उनलाई जगतबहादुर राईले आफ्नो छोरा बनाएका थिए । तामाङले 'निर्मल(निरञ्जरन होजाई) राई जगतबहादुरकै छोरा हो' भनेर समाजसेवीको हैसियतले सनाखत गरिदिएका थिए । निरञ्जरन होजाईले निर्मल राईको नाममा राहदानी पनि निकाले पछि सरिता गिरीसँग विवाह गरेर नेपालमै बसेका थिए भने काठमाण्डौंको जोरपाटीमा बसेर गतिविधिहरु सञ्चालन गर्थे ।

सिंगापुरबाट २ लाख अमेरिकी डलर आएपछि प्रहरीले २०६८ सालमा होजाई(निर्मल)की पत्नी सरिता गिरीलाई पक्राउ गरेको थियो । बैंककबाट हङकङ हुँदै त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै प्रहरीले होजाईलाई पनि पक्राउ गर्यो । त्यसपछि मात्र उनले सुनसरीको धरानबाट निर्मल राईको नाममा किर्ते नागरिकता निकालेको खुलेको थियो । २०६८ सालमा नै प्रहरीले होजाईलाई नागरिकता निकालिदिने जगतबहादुर राई र सनाखत गर्ने तामाङलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । त्यसबेला उनीहरु जनही ३५ हजार धरौटीमा छुटेका थिए । जगतबहादुरको मृत्यु भइसकेको छ ।

होजाईलाई नेपाल प्रहरीले २०६८ सालमा नै भारतलाई बुझाएको थियो । उनी र उनका श्रीमति सरिता गिरीविरुद्ध आतंककारी गतिविधिबाट आर्जेको सम्पत्ति संकलन गरेको अभियोगमा सम्पत्ति सुद्धिकरण नियन्त्रण ऐनअनुसार बिशेष अदालतमा मुद्दा चलेको थियो । उक्त मुद्दामा होजाई र श्रीमति गिरीलाई बिशेष अदालतले २०७० सालमा कैद र विगो-जरिवाना गर्ने फैसला सुनाएको थियो ।