धरान: धरानमा कोरोना संक्रमितहरु भएकाहरु हालसम्म ८८ प्रतिशत निको भइसकेका छन् ।

हालसम्म धरानमा ३३०१ जना कोरोना संक्रमित भएको तथ्यांक उपमहानगरपालिकाको स्वास्थ्य महशाखामा छ । यो हिजो साँझ पोजेटिभ रिपोर्ट आएका १७ जना सहितको तथ्यांक हो । ती मध्ये हालसम्म २९०६ जना होम आइसोलेसन र अस्पतालबाट निको भएर डिस्चार्ज भएको रेकर्ड छ । यो ८८.०३ प्रतिशत हो । ‘अहिलेसम्म डिस्चार्ज हुनेको प्रतिशत ८८.०३ प्रतिशत पुगेको छ,’स्वास्थ्य महशाखा प्रमुख उमेश मेहताले भने ।

महाशाखाका अनुसार हाल होम आइसोलेशनमा ३३० जना छन् । धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ६८ पुगेको छ । उमेर समुहको हिसाबले सबैभन्दा धेरै २१ देखि ४० बर्षका संक्रमितहरु छन् । यो उमेर समुहको संख्या १७०७ जना छ । उपमहानगरपालिकाले समुदायस्तरमा गत साउन १९ यता स्वाब संकलन गर्न थालेको थियो । हिजोसम्म ६ हजार १ सय ७६ जनाको स्वाब संकलन भइसकेको पनि मेहताले जानकारी दिए ।