धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक जना माइ नगरपालिका १, इलामका २५ बर्षीय पुरुष छन् भने अर्का मोरङको सुन्दर हरैचाका ६७ बर्षीय वृद्ध पुरुष रहेका छन् । प्रतिष्ठानको सुचना केन्द्रका अनुसार इलाम १ का २५ बर्षीय पुरुषको गए राती साढे ९ बजे मृत्यु भएको हो । दीर्घ रोगी ती युवालाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए ।

यस्तै, मोरङको सुन्दरविराटचोक निवासी ६७ बर्षीय वृद्धको आज बिहान ६ बजेर ४० मिनेटमा मृत्यु भएको हो । मधुमेहका रोगी उनलाई कार्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने मंसिर १ गते कोभिड अस्पतालमा भर्ना गरिएको सुचना केन्द्रले जनाएको छ । दुवैको शवलाई नियम अनुसार व्यवस्थापन तयारी भइरहेको पनि प्रतिष्ठानले जनाएको छ ।