झापा: झापाको कमल गाउँपालिका ६ का ४७ बर्षीय चुडामणी भण्डारी आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

आईतवार अपरान्ह साँढे ५ बजे उनले श्रीमती ३९ बर्षीया टिकादेवी पौडेलको हत्या गरेका थिए । श्रीमती पौडेल र दमक नगरपलिका २ का २५ बर्षीय प्रकाशचन्द्र दाहाल खेतमा धान उठाउन गएको बेला भण्डारी एक्कासी आवेशमा आई दुबै जनालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट टिकादेवीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ भने खुकुरी प्रहारबाट घाईते भएका दाहालको एडभान्स अस्पताल दमकमा उपचार भईरहेको छ । खुकुरी प्रहार गर्ने भण्डारीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।