धरान: स्वास्थ्य अवस्था खराब हुँदै गएपछि गायक सुरेश गन्धर्व अस्पताल भर्ना भएका छन् ।

उनलाई नेकपाका नेता र कलाकारहरुले हिजो दिउँसो वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेका हुन् । गायक गन्धर्वलाई हाल प्रतिष्ठानको ट्रापिकल वार्डमा भर्ना गरिएको छ । उनलाई नेकपा नेता चोत्लुङ, रंगकर्मी विष्णु मोक्तानले हिजो अस्पताल भर्ना गरेका हुन् । शुरुमा आकस्मिक कक्षमा लगिएको थियो । त्यहाँबाट मुटु रोग विशेषज्ञ प्रा.डा.सञ्जिव शर्मासँग समन्वय गरेपछि गायक गन्धर्वलाई ट्रपिकल वार्डमा सारिएको नेता चोत्लुङले जानकारी दिए । गायक गन्धर्वलाई मुटूको समस्यासँगै मधुमेह, थाइराइड, उच्चरक्तचापगाय स्वास्थ्य समस्या रहेको छ ।

नेता चोत्लुङका अनुसार अस्ति आइतबार रंगकर्मी विष्णु मोक्तानलगायतसँग सल्लाह गरेपछि उपचारको लागि गायकलाई हिजो अस्पताल भर्ना गरिएको हो । गायक गन्धर्वको स्वास्थ्य अवस्था सँगै घरको आर्थिक अवस्था पनि नाजुक भएकोले सहयोगको खाँचो रहेको उनले बताए । 'अस्पतालमा उपचारमा लाग्ने खर्च छुट गराउन हामी पहल गछौं, तर औषधीमा खर्च लाग्छ । यसको लागि सहयोग जुटाउनुपर्ने हुन्छ,'चोत्लुङले भने, 'उहाँको उपचारमा सहयोगको लागि हामी अपिल गछौं ।' हिजो इर्मजेन्सी हुँदै ट्रपिकल वार्डमा भर्ना गरिएको र आजदेखि गायकको स्वास्थ्य जाँच शुरुवात हुने पनि उनले बताए ।

suresh

गायक गन्धर्वले गाएको रिन्केबुङको राँगोलाई..चुङ्केबुङको चुलेसीले...बोलको गीत चर्चित रहेको छ । गीत चर्चित भएपनि गायक गन्धर्वको अवस्था भने सधै दयनीय नै रह्यो । उनी लामो समयदेखि धरानमा डेरामा नै बस्दै आएका छन् । सारङ्गी रेटेर गाउदै जिविका चलाइरहेका गायक गन्धर्वलाई पछिल्लो समय स्वास्थ्यले पनि साथ नदिएपछि गुजारा चलाउन पनि हम्मे परिरहेको छ । उनले गाएको गीत रिन्केबुङको राँगोलाई..अहिले रिमेक भर्सनमा आएको छ । रमेश प्रसाईको स्वरमा म्युजिक भिडियोसहित रिमेक गीत सार्वजनिक भएपछि यो गीतले पुनः चर्चा कमाएको छ ।