धरान: हरेक बर्ष कार्तिक शुक्ल एकादशीदेखि सुनसरीको बराहक्षेत्र मन्दिरमा ५ दिनसम्म मेला नै लाग्ने गथ्र्यो । यो बर्ष पनि भोली बुधबार एकादशी परेको छ ।

कार्तिक शुल्क एकादशीलाई ठुलो एकादशी तथा हरिबोधिनी एकादशी पनि भनिन्छ । विगतमा एकादशीमा लाग्ने मेलामा बिशेष गरि भारतबाट भक्तजनहरुको घुँइचो लाग्थ्यो । कोकाह र कोशीको संगमस्थलमा भक्तजनहरु नुहाउने र बराहमा जल चढाउने चलन छ । यसपाली कोरोना कहरले धरानका सबै मठमन्दिर प्रशासनले बन्द गराएको छ । बराहक्षेत्र मन्दिरलाई भने धरानका मन्दिर जस्तो पुर्णरुपमा बन्द गराएको छैन । तर, एकादशीमा विगतमा जस्तो भिडभाड हुन नदिन निर्देशन दिएको जनाएको छ ।

सुनसरीका प्रजिअ फडिन्द्र पोखरेल, प्रहरी र सशस्त्रका एसपी, बराहक्षेत्र नगरका मेयर मंगलबार दिउँसो आफै बराहक्षेत्र पुगेका थिए । बराहक्षेत्र मन्दिर र चतराको औलिया मन्दिरको ५ सय मिटर क्षेत्रमा मासु र मदिरा बिक्रीवितरणमा रोक लगाएको सिडिओ पोखरेलले बताए । उनका अनुसार मन्दिर आसपास ५ मिटरसम्म सधैको लागि मासु र रक्सी विक्री गर्न, खान रोक लगाइएको हो । ‘मासु र मदिरा दुवै मन्दिरको ५ सय मिटर आसपासमा बिक्री वितरण र खान रोक लगाएका छौं,’सिडियो पोखरेलले भने,‘यसपाली भारतबाट कोही आउदैनन्, नेपालका भक्तजनहरुलाई पनि मन्दिर नजानुस् भन्ने हो, आउनेलाई रोक्दैनौं ।’

कार्तिक मेला लगाउदैनौं, बाँचे अर्को साल मेला लाग्छ : मेयर

barahxetra

बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले विगतमा जस्तो यसपाली कातिक एकादशी मेला नलगाउने निर्णय गरिएको बताए । सीमा नाका सिल अवस्थामा नै रहेकोले भारतबाट विगतमा जस्तो भक्तजनहरु पनि नआउने र भिडभाड पनि नहुने मेयर खनालले दाबी गरे । ‘पहिला जस्तो मेला लाग्दैन । भिडभाड पनि हुदैन,’मेयर खनालले भने,‘सकेसम्म मन्दिर नआउनुस्, बाँचे अर्को साल मेला लाग्छ । यसपाली फाट्ट फुट्ट नै भक्तजनहरु आउलान्, उहाँहरुलाई नुहाउन र जल चढाउन दिइन्छ, तर समाजिक दुरी कायम राख्नु भनेका छौं ।’