धरान: धरान उपमहानगरपालिका वडा नं ६ पानवारीका ९१ र ९० बर्षका वृद्धवृद्धा दम्पत्तिले पनि कोरोना भाइरसलाई जितेका छन् ।

पानवारीका ९१ बर्षीय केशव प्रसाद वराल र श्रीमति ९० बर्षीया चन्द्रादेवी वरालले कोरोनालाई जितेका हुन् । उनीहरुलाई गत कार्तिक १२ गते संक्रमण पुष्टि भएको थियो । शुरुवात वृद्ध वराल दम्पत्तिसँगै परिवारका ६ जनालाई संक्रमण देखिएको थियो भने पछि थप एक जनालाई पुष्टि भएको थियो । अहिले वृद्ध दम्पत्तिसहित परिवारका सबै जना कोरोना निको भइसकेका छन् । वृद्धवृद्धाको ३ दिनअघि रिपोर्ट नेगेटिभ आएको हो ।

वृद्ध वराल दम्पत्तिका नाति एवं शिक्षक ठमेन्द्र वरालका अनुसार हजुर आमा(चन्द्रादेवी)लाई केही दिन कोभिड अस्पतालमा राख्नु परेको थियो । सुधार भएपछि घरमा नै ल्याएर अक्सिजन दिएर राखिएको थियो । अहिले एक सातादेखि अक्सिजन नलगाई सामान्यरुपमा नै हजुर आमा पनि घरमा बसिरहेको र पिसिआर नेगेटिभ रिपोर्ट आइसकेको नाती ठमेन्द्रले बताए । ‘हजुरबालाई पनि रुघा खोकी मात्र लाग्यो, अरु कुनै समस्या भएन । खाना निरन्तर खाइरहनु भयो । अहिले सबैको स्वास्थ्य नर्मल नै छ,’उनले भने,‘आत्मवल वलियो भयो भने र कोभिड अस्पतालमा राम्रो केयर पुग्यो भने निको हुने रहेछ ।’

उनका अनुसार हजुर आमालाई कोभिड अस्पतालमा राख्दा बुबा नै बसेर केयर गरेका थिए । बुबा पनि कोरोना संक्रमित भएकोले कोभिडमा बस्न दिइएको थियो । त्यसैले हजुर आमालाई राम्रो रेखदेख भएको ठमेन्द्रको भनाई छ । कोभिड अस्पतालमा घरबाट लगिएको तातो खाना एक घण्टासम्म पनि विरामीलाई दिइदैनथ्यो । एक जना चिनेको नर्स कार्यरत भएकोले उनीमार्फत नै खाना अलिक चाडो बुबासम्म पुर्याइने गरेको उनले बताए । ‘अस्पतालमा मैले लगिदिएको खानेकुरा १ घण्टा पछि मात्र बुबासम्म पुग्थ्यो । हामीले कुरा गर्दा लिने टाइम हुन्छ, त्यो टाइममा मात्र लैजान्छ भन्थे,’उनले भने,‘एक जना नर्समार्फत खानेकुरा चाडै पुर्याउने गथ्र्यो । कोभिडमा अलिक राम्रो रेखदेख भयो भने विरामीलाई राम्रो हुने रहेछ ।’

वडा नं ६ का अध्यक्ष भुवनसिं बस्नेतले पनि ९०, ९१ बर्षको उमेरमा कोरोना जित्नु ज्यादै खुशीको कुरा भएको बताए । 'घरमा नै बसेर कोरोना जित्नुभयो । हजुरआमालाई चै केही दिन कोभिडमा लैजानु पर्यो । यो उमेरमा पनि कोरोना जित्नु भनेको हामी सबैको लागि प्रेरणा बन्नु भएको छ, आत्मवल वलियो हुनुपर्छ, केही हुदैन,'अध्यक्ष बस्नेतले भने ।