धरान: टाउको अप्रेशन गर्दा मृत्यु भएको व्यक्ति शव जलाउन लागेको बेला पेट पनि चिरिएको देखेपछि स्थानीयले केराबारीबाट सोमबार राती धरान ल्याइएको थियो । उक्त शवको आज पोष्टमार्टम भएको छ ।

आज मध्याह्न वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोष्टमार्टम गरिएको र परिवारलाई जिम्मा दिइएको प्रतिष्ठानस्थित प्रहरी पोष्टले जनाएको छ । 'शवको पोष्टमार्टम भइसक्यो, शव केराबारी लैजाने तयारी भइरहेको छ । शव लिन मृतकको श्रीमति आउनु भएको छ, लगेर उतै अत्येष्टी गर्ने भन्दैछन्,' प्रहरी पोष्टका एक प्रहरीले भने ।

मोरङको केराबारी ९ बेलचौरीका ३० बर्षीय बिक्की ऋषिदेवको शनिबार टाउकोको शल्यक्रियाको क्रममा नोबेल मेडिकल कलेजमा निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएका उनको शव बिल तिर्न नसकेर २ दिनसम्म अस्पतालमा नै रहेको थियो । स्थानीयले सहयोग संकलन गरेर सोमबार शुल्क तिरेपछि साँझ शव केराबारी लगिएको थियो । राती शवको अन्त्येष्टी गर्ने बेला पेटमा टेप लगाएको देखिएको र टेप उप्काएर हटाउदा टाँका लगाएको देखिएपछि स्थानीयबासीले आशंका व्यक्त गर्दै पोष्टमार्टमको माग गरेका थिए ।

मृतकको शवको पेटमा डेढ इञ्ज जति चिरेर टाँका लगाएको देखिएको थियो । स्थानीयबासीले त्यसैमा आशंका व्यक्त गरेका थिए । अन्त्येष्टीको बेला पेट चिरेको देखिए पछि सोमबार राती नै मृतकको शव चिताबाट उठाएर वीपी प्रतिष्ठान धरान ल्याइएको थियो । हिजो मृतकको परिवारले प्रहरीमा निवेदन दिएपछि पोष्टमार्टम प्रक्रिया अघि बढेको थियो ।