एजेन्सी: विश्वविख्यात फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।

उनको हृदयघातको कारण ६० बर्षको उमेरमा घरमा नै निधन भएको बिबिसिले जनाएको छ । म्याराडोनाको करिब दुई साताअघि मात्र मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो । म्यारोडानाले अर्जेन्टिनालाई सन् १९८६ विश्वकप उपाधि दिलाएका थिए । म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ। आज पनि धेरैले उनलाई त्यही विश्वकपमा देखाएको अद्भूत प्रदर्शन निम्ति सम्झना गर्छन्।

उनले अर्जेन्टिनाका लागि चारवटा विश्वकप खेले। सन् १९९० को विश्वकपमा पनि अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा तत्कालीन पश्चिम जर्मनीबाट पराजित भयो। सन् १९९१ मा लागुपदार्थ सेवन गरेको पुष्टि भएपछि उनलाई १५ महिना प्रतिबन्ध लगाइएको थियो। उनले सन् १९९७ मा व्यावसायिक फुटबलबाट संन्यास लिएका थिए। त्यति बेला उनी ३७ वर्षका थिए। सन् २००८ मा उनलाई अर्जेन्टिना फुटबल टिमको प्रशिक्षक नियुक्त गरिएको थियो। उनको प्रशिक्षणमा २०१० को विश्वकप मैदानमा ओर्लिएको अर्जेन्टिना क्वार्टर फाइनलमा जर्मनीबाट पराजित भएको थियो। बिबिसी