धरान: धरान १७ स्थित पट्नालीमा जारी प्रथम पट्नाली च्यालेन्ज कप फुटबल प्रतियोगिताको फाइनलमा धरानको गोधुली क्लब प्रवेश गरेको छ ।
आज बिहीबार भएको पहिलो सेमिफाइन खेलमा बराहक्षेत्रको टेकाने फुटबल क्लबलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउदै गोधुली फाइनल पुगेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोली गोलरहित बराबरी खेलेको थियो । टाइब्रेकरमा गोधुलीले बाजी मार्दै उपाधि नजिक पुगेको हो । खेलको म्यान अफ द म्याच गोधुली क्लबका गोल किपर आशिष कार्की घोषित भए ।
प्रतियोगिताको विजेताले उपाधिसँगै नगद ५० हजार हात पार्नेछ भने उपविजेताले नगद २५ हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको राइजिग प्लेयरले नगद १० हजार पुरस्कार पाउनेछ । प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीलाई नगद ३१ सयले पुरस्कृत गरिने आयोजक पटनाली फुटबल क्लबका अध्यक्ष नगेन्द्र गिरीले बताए ।