धरान: कोरोना महामारीले खेलकुदका गतिविधिहरु लामो समयसम्म ठप्प भयो । झण्डै ८ महिनादेखि ठप्प भएको खेलकुदका गतिविधिहरु अहिले विस्तारै शुरु हुने क्रममा छ ।

यही क्रममा धरानमा पनि ट्रायथलन गतिविधि शुरु भएको छ । ट्रायथलन धरान र धरान रनको सहकार्यमा हरेक महिनाको अन्तिम शुक्रबार ट्रायथलन शुरुवात भएको हो । बिहान धरान ११ स्थित नवनिर्मित सर्दु खोलको पुलबाट ट्रायथलन शुरुवात हुन्छ, र धरान २० भञ्ज्याङमा पुगेर टुंगिन्छ । ट्रायथलन गएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि समावेश भएको खेल हो । धरानकी इन्द्रकला(निक्की) नेम्बाङ उक्त प्रतियोगितामा सहभागी भएर चौथो भएकी थिइन् ।

धरानमा ट्रायथलनको प्रमुख अभियन्ता डा.समिर चौधरी, दिपक राई र पुर्ण प्रधान छन् । डा. समिर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् । उनी दौड र साइकल प्रेमी हुन् । साइकलप्रेमी दिपक राई पब्लिक मावि धरान १२ का शिक्षक हुन् भने पुर्ण पुर्वभारतीय सैनिक हुन् । उनी अल इण्डिया साइक्लिङमा च्याम्पियन भइसकेका छन् । धरानमा नियमित ट्रायथलन खेलाडीमा निक्कीसँगै किरण लिम्बु पनि अभ्यासरत छन् ।

trithalan-dharan

ट्रायथलनमा एकै व्यक्तिले दौड, साइक्लिङ र स्वीमिङ गर्नुपर्छ । धरानमा भने अलग तरिकाले ट्रायथलन हुने गरेको छ । कोही दौडन्छन् । कोही साइक्लिङ गर्छन् । यहाँ स्वीमिङको प्रबन्ध छैन । सर्दु पुलबाट भञ्ज्याङसम्म झण्डै ४ किलोमिटर कोही दौडन्छन्, कोही साइक्लिङ गर्छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई प्रोत्साहन गर्न हरेक साता पुरस्कारसमेत दिइने गरेको धरान रनका अध्यक्ष रमु राईले जानकारी दिए । कोरोना कहरले सुस्ताएको खेलकुद गतिविधिलाई चलायमान बनाउन ट्रायथलनको शुरुवात गरिएको उनले बताए ।