सुनसरी: अस्थायी प्रहरी चौकी तालतलैयामा नवनिर्मित अस्थायी प्रहरी कार्यालय भवनको उद्घाटन भएको छ ।

कार्यालयको हाता भित्र एक बिशेष समारोहबीच १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार भवनको उद्घाटन गरेका हुन् । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायिक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोगमा निर्माण भएको हो । भवनको कुल लागत ७० लाख रहेको छ ।

इटहरीस्थित तालतलैया प्रसिद्ध पर्यटकीयस्थल हो । प्रहरी चौकी निर्माण भएपछि घुम्न आउने पर्यटकहरुको सुरक्षा चिन्ता हटेको स्थानीयले प्रतिक्रिया दिएका छन् । कार्यक्रममा पुर्व सांसद सर्वध्वज साँवा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरवाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप(महानगरपालिका प्रमुख, सुनसरीका प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।