धरान: धरानका वापन्थी नेता एवं वामचिन्तक बि.ए.कृष्ण(कृष्णप्रसाद श्रेष्ठ)को निधन भएको छ ।

उनको धरान १ स्थित निवासमा नै हिजो ८६ बर्षको उमेरमा निधन भएको हो । मृतक श्रेष्ठको आजै अन्त्येष्टी गरिने बताइएको छ । श्रेष्ठलाई धरानमा सबैले विद्धान अभिभावककोरुपमा सम्मान गर्ने गर्थे । राजनीतिसँगै श्रेष्ठले लामो समय समाजसेवा र साहित्यमा बिताए । अर्थशास्त्रका प्राध्यापक डा.राजेन्द्र शर्माका अनुसार श्रेष्ठ धरानको पहिलो कम्युनिष्ट हुन् । २००६ सालमा श्रेष्ठले एसएसली दिएका थिए । उनी सोही बर्ष कम्युनिष्ट भएको शर्मा बताउँछन् ।

श्रेष्ठ धरानबाट स्नातक तह(बि.ए.) उतीर्ण गर्ने पहिलो २ जना व्यक्तिमा पनि पर्छन् । श्रेष्ठ र यज्ञप्रसाद आचार्य धरानमा बि.ए.पास गर्ने पहिलो व्यक्तिहरु हुन् । श्रेष्ठले राम्रो डिभिजन ल्याएको र कृष्णप्रसाद नाम गरेका व्यक्तिहरु धेरे भएकोले उनलाई बि.ए.कृष्ण भनेर चिन्न थालिएको डा.शर्मा बताउँछन् । पुष्पलालबाट नै राजनीति शुरु गरेपनि पछि श्रेष्ठ कृष्णराज वर्मा समुहमा लागेका थिए । उनी २०१५ सालमा पालिका सदस्य पनि भएको डा.शर्माले जानकारी दिए । रुसमा साँस्कृतिक कोटामा थुप्रै युवाहरुलाई अध्ययन गर्न श्रेष्ठले सहयोग गरेको उनले बताए ।