धरान: धरानका निजी तथा संस्थागत विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएको छ ।

कोभिड १९ महामारीको कारण करिब ८ महिनादेखि बन्द रहेका स्कुलहरु स्वास्थ्य प्रोटोकल पालना गर्दै आइतबारदेखि सञ्चालन गर्ने निर्णय गरिएको एसिसि अध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार मावि तहको विद्यालय हो भने कक्षा ८,९ र १० को पढाई शुरु गर्नेछ । प्राथमिक तहको स्कुल छ भने कक्षा ४ र ५ को मात्र पढाई शुरु गर्ने पनि उनले जानकारी दिए । ‘सरकारको स्वास्थ्य प्रोटोकल पालना गरेर सबै स्कुलले विभिन्न सिफ्टमा पढाई शुरु गछौं,’उनले भने,‘एउटा डेस्क बेञ्चमा २ जना मात्र राख्ने । मास्क, सेनिटाइजरको व्यवस्था गर्ने, छोटो समयको लागि मात्र स्कुल चलाउने, खाजा स्कुलमा नखाने व्यवस्था हुन्छ ।’

स्कुलहरुले केही समयलाई बस सञ्चालन नगर्ने पनि निर्णय गरिएको अध्यक्ष गुरुङले जानकारी दिए । बसमा भौतिक दुरी कायम हुन नसक्ने भएकोले यस्तो निर्णय गरिएको उनले बताए । आफ्ना छोराछोरीहरुलाई अभिभावकहरुले नै स्कुलसम्म ल्याउने र लैजाने व्यवस्था गर्नुपर्ने पनि उनको भनाई छ । धरान उपमहानगरपालिकाले हिजो बिहिबारसम्म स्कुलहरु कसरी सञ्चालन गर्ने भनेर विकल्पसहित प्रस्ताव माग गरेको थियो । धरानमा रहेका करिब ८० वटा स्कुलहरुले प्रस्ताव पेश गरिसकेका छन् । ‘हाम्रो छिमेकी नगर, जिल्लाहरुमा स्कुल शुरु भइसक्यो । हामीले पनि प्रोटोकल मानेर पहिला नै चलाउने तयारीमा थियौं । स्कुल चलाउने कुरामा समस्या होइन, शुल्कको बिषयमा मात्र समस्या हो,’युरेका आवासिय माविका प्रिन्सिपलसमेत रहेका गुरुङले भने,‘प्रारम्भिक चरण हो, सबै कक्षा पनि लगाउने होइन । गल्ती, कमीकमजोरीहरुलाई सच्याउदै अघि बढ्छौं ।’