धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रंग मिसाएको गुणस्तरहिन स्प्रिट सप्लाई गरेर ठगी गरेको पाइएको छ ।

अस्पतालको विभिन्न विभागमा पुगेको स्प्रिट डाक्टरहरुले प्रयोग गरेपछि गुणस्तरहिन र रंग मिसिएको पुष्टि भएको हो । सप्लायर्सले दिएको गुणस्तरहिन स्प्रिटको गुणस्तर जाँच नभएको र मेडिकल स्टोरले पनि आवश्यक जाँच(भेरिफाई) नगरी अस्पतालमा प्रयोगको लागि पठाएको भन्दै प्रतिष्ठानका चिकित्सकहरु रुष्ट छन् । उनीहरुले स्टोरको मिलेमतोमा गुणस्तरहिन सामान प्रयोग गर्न पठाएको आशंका गर्छन् ।

स्प्रिट प्रयोग गर्ने डाक्टरहरुका अनुसार मिसावट भएको कारण प्रयोगकर्ताहरुको हात नै हरियो बनेको थियो । यो बिषयमा चिकित्सकहरुले अस्पताल प्रशासनमा पनि गुनासो गरिसकेका छन् । स्प्रिट मानिसले नपिउन् भनेर हरियो रंग देखिने गरि कपर सल्फेट मिसाइएको हुन्छ । त्यो स्प्रिटमा रुवा चोप्दा रंग आउदैन । तर, अहिले प्रतिष्ठानमा सप्लाई भएको गुणस्तरहिन स्प्रिटले रुवालाई मात्र होइन, हातलाई नै पनि हरियो बनाइदिन्छ ।

प्रतिष्ठानका चिकित्सकहरुले गुणस्तरहिन सामान पठाउने सप्लायर्सलाई कारबाही गर्न पनि माग गरेका छन् । चिकित्सा एवं दन्त चिकित्सा कल्याण समाजका अध्यक्ष डा.विष्णु पोखरेलले जे मन लाग्यो, त्यही गर्ने सप्लायर्सलाई कारबाही गर्नुपर्ने बताए । ‘यो बिषयमा आवश्यक छानबिन होस्, र दोषीलाई कारबाही होस् । जे मन लाग्यो त्यही गर्ने सप्लायर्सलाई कारबाही हुनुपर्छ,’डा.पोखरेलले भने । यो स्प्रिटको सप्लायर्स को हो भन्ने जानकारी प्रतिष्ठानले दिएको छैन । तर स्रोतका अनुसार यो स्प्रिट गर्ग इम्पेक्समार्फत आएको हो । यो धरानका व्यापारी पवन अग्रवालको फर्म हो। 

sprit1

प्रतिष्ठानका गुणस्तर जाँच प्रमुख परमानन्द गुप्ता विगतमा पनि स्प्रिटको नमुना नराम्रो आउदा ३ पटक क्यान्सिल भएको बताउँछन् । अहिले प्रतिष्ठानमा सप्लाई भएको स्प्रिट भने जाँच नै नगरिएको उनको भनाई छ । ‘यो नमुना आएको हो भने त क्यान्सल भैहाल्थ्यो । यो हामीले जाँच गरेकै छैनौं,’उनले भने,‘हामीलाई राम्रो नमुना पठाएर पछि अर्को सामान सप्लाई गरेको पनि हुनसक्छ ।’

मेडिकल स्टोर प्रमुख सञ्जिव कर्णले सप्लायर्सले वदमासी गरेको दाबी गर्दै गुनासो आएपछि फिर्ता गरेको बताए । उनले सप्लायर्सको भुक्तानी पनि रोकिएको दाबी गरे । गुणस्तर जाँच गर्दा राम्रो नमुना पठाएर पछि मिसावट भएको सामान पठाउने गरेको उनको दाबी छ । उनले कुन सप्लायर्सबाट सामान आएको भन्ने बताउन चाहेनन् ।

सहायक अस्पताल निर्देशक डा.प्रमोद वरालले मिसावट भएको स्प्रिट प्रयोग नगर्न र राम्रो स्प्रिट रिप्लेस गर्न निर्देशन दिइएको बताए । जानाजान वदनियत गर्नेलाई कारबाही हुनुपर्ने भन्दै उनले अस्पताल निर्देशकको तहबाट सचेत गराउनेलगायत कारबाही अघि बढेको दाबी गरे । कारबाहीको बिषयमा बुझ्न प्रतिष्ठानका अस्पताल निर्देशक डा.गौरीशंकर साहसँग सम्पर्क गर्दा उनले भने फोन उठाएनन् ।