धरान: मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङ १ मा अज्ञात समुहले शिक्षकको गोली हानी हत्या भएको छ ।

आज बिहानै करिब ५ बजेतिर आएको समुहले शिक्षक राजेन्द्र श्रेष्ठलाई घरबाट नै उठाएर लगेका थिए । नचिनेका ५ जनाको समुहले श्रेष्ठलाई उठाएर लगेको र पछि खोजी गर्दा हत्या भएको अवस्थामा भेटिएको स्थानीयले जानकारी दिएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए । उनले भने,‘५ जनाको समुहमा आएर घरबाट उठाएर लगेको रहेछ । गाउँलेहरुले कस्ले, कहाँ लगे भनेर खोजी गर्दा लाश भेटियो भन्ने खबर आएको छ ।’ शिक्षक श्रेष्ठ सरस्वती आधारभुत विद्यालयका शिक्षक हुन् ।

घटनास्थल गाउँपालिका कार्यालयदेखि ३५ किलोमिटर पुर्वउत्तरमा हो । ईलामको चुलाचुली गाउँपालिका र मिक्लाजुङ १ वडा जोडिन्छ । त्यहाँसम्म गाडी सहजरुपमा पुग्दैन । अहिले घटनास्थलतर्फ मोरङको उर्लाबारी र लेटाङबाट प्रहरी टोली जादैछ भने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लोकदर्शन थापाको नेतृत्वमा पनि अर्को टोली घटनास्थलतर्फ गइरहेको छ । ‘म आफै पनि घटनास्थलतर्फ जादैछुँ, शिक्षकको हत्या भएको भन्ने खबर आएको छ, तर लाश नदेखी के भएको हो भन्न सकिन्न,’डिएसपी थापाले भने ।

शिक्षकलाई कस्ले लगेर हत्या गरेको भन्ने पुष्टि नभै सकेपनि स्थानीय र प्रहरीले भने विप्लव समुहबाट घटना भएको जनाएको छ । यद्यपी, गाउँपालिका अध्यक्ष आचार्यले घटनाबारे अहिलेसम्म कसैले जिम्मा नलिएको जनाएका छन् । यता मोरङ प्रहरी प्रवक्ता डिएसपी थापाले विप्लव समुहले लगेको जानकारी आएको बताए ।