धरान: सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई सार्वजनिक भएको छ। नेपाल र चीनका परराष्ट्रमन्त्रीले संयुक्तरुपमा सार्वजनिक गरेको नयाँ उचाई विगतको भन्दा थोरै बढेको छ।

सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटर रहेको छ। यस अघि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिदै आएको छ। यो मापन सन् १९५७ मा जिएल गुलाटी कम्पनीले गरेको थियो। भर्चुअल माध्यमबाट दुवै देशका परराष्ट्रमन्त्रीले आज उचाई सार्वजनिक गरेका थिए। दुबै देशले छुट्टाछुट्टै साधन र स्रोत प्रयोग सगरमाथाको उचाइ मापन पूरा गरेका थिए। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको थियो । यसको लागि नेपालमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो। सचिवालयले गत असारमै रिपोर्ट तयार गरेको थियो।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम ९जिएनएसएस० प्रविधिबाट सगरमाथा मापन गरेको जनाएको छ । यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए। सुरजसिंह भण्डारी र युवराज धिताल आधार शिविरसम्म पुगेका थिए। नेपालले सगरमाथाको मापनको काम अन्तिम चरणमा पुर्याकएको बेला चीनले पनि उत्तरी मोहडाबाट सगरमाथाको मापन सुरु गरेको थियो।