धरान: आफ्नै अनुयायी बलात्कार गरेको आरोप लागेका सुनसरी चतरास्थित आश्रमका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सफाई दिने फैसला विवादित मात्र होइन, प्रधानन्यायाधिशको पनि ध्यान खिचेको छ ।

यो फैसलाविरुद्ध पीडितले प्रधानन्यायाधिश चोलेन्द्र शम्सेर जबरालाई भेटेका छन् भने महान्यायधिशवक्ता अग्नी खरेलले पनि प्रधानमन्यायधिश जबरालाई भेटेर असन्तुष्टी जनाएको समाचार अनलाइनखबरले प्रकाशित गरेको छ । पीडितले आफुमाथि अन्याय भएको बताएकी छिन् । हिजो सोमबार जिल्ला अदालत सुनसरीका १ नम्बर न्यायाधिश अर्जुन प्रसाद कोइरालाले बलात्कार आरोप पुष्टि हुन नसक्ने भन्दै गिरीलाई सफाई दिएका थिए । सरकारी वकिलको कार्यालयले मिसिल सर्वोच्चबाट आइनपुगेको भन्दै पेशी हटाउन निवेदन दिएपनि न्यायाधिश कोइरालाले एकपक्षीय प्रतिवादी वकिलहरुको मात्र बहस गराएर फैसला गरेका थिए । यो फैसलाको सर्वत्र विरोध भइरहेको छ । न्यायाधिश कोइरालाको फैसला विगतमा पनि विवादित भएको थियो ।

यसअघि पनि जिल्ला अदालतले गिरीलाई ३ लाख धरौटीमा छोड्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । जिल्लाको आदेश उल्टाउदै उच्च अदालत विराटनगरले गिरीलाई पुर्पक्षमा पठाउने आदेश दिएको थियो । यो आदेशविरुद्ध गिरी सर्वोच्च पुगेका थिए । सर्वोच्चले पनि उच्च अदालतको आदेशलाई नै सदर गरिदिएको थियो । 'यो फैसला गर्दा न्यायाधीशले प्राप्त प्रमाण (पीडितको जाहेरी, पीडितलाई आश्रममा बोलाएको म्यासेज र माफी मागेको आवाज सिद्धबाबाकै भएको प्रयोगशालाको ठहर) मात्र बेवास्ता गरेनन्, प्रक्रियामा समेत त्रुटि गरेको महान्यायाधिवक्ताको कार्यालयको निष्कर्ष छ,अनलाइनखबरले लेखेको छ,'त्यही कारण महान्यायाधिवक्ता खरेलले प्रधानन्यायाधीशलाई भेटेरै असन्तुष्टि जनाएको बुझिएको छ ।'