मोरङ: जर्बजस्ती करणी गर्ने र उक्त घटनालाई मिलापत्र गराउने थप ६ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार जर्बजस्ती करणीको घटना गत भदौ २४ गते साँझ करिब ६ बजे भएको हो । उक्त घटनामा पीडित पक्षलाई ५ लाख रुपैया दिएर गाउँघरमा नै मिलापत्र गराएको अनुसन्धानबाट खुलेको छ । मिलापत्रको कागज पनि प्रहरीले फेला पारेपछि मिलापत्रमा संलग्न ६ जनालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरका प्रवक्ता एवं डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रहरीका अनुसार मोरङ धनपालथान गाउँपालिका वडा नं ५ मा सुरेश खवासको धान खेतमा मल छर्ने क्रममा सुनबर्षी ५ की २१ बर्षीय युवतीलाई जर्बजस्ती करणी गरेका थिए । अभियुक्त ३२ बर्षीय खवासको ठेगाना बेलबारी नगरपालिका ८ हो । उक्त घटनाबारे पीडित युवतीले असोज २५ गते ईलाका प्रहरी कार्यालय रंगेलीमा जाहेरी दिएकी थिइन् ।

अभियुक्त खवास फरार भएका थिए । उनलाई प्रहरीले मंसिर १९ गते रंगली बजारबाट पत्राउ गरेको थियो । खवास पक्राउ परेपछि अनुसन्धानको क्रममा उक्त घटनालाई गाउँघरमा नै ५ लाख रुपैया दिएर मिलापत्र गराएको पनि खुलेको छ । प्रहरीले मिलापत्र कागज समेत वरामद गरेको छ भने मिलापत्र गराउन संलग्न ६ जनालाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

बलात्कार घटनालाई मिलापत्र गराउनेहरु धनपालथान ५ का ६५ बर्षीय धनेशु खवास, ५३ बर्षीय सुधार सिंह खवास, ६२ बर्षीय मागन खवास, ६२ बर्षीय कलकनु खवास र बेलबारबाी नगरपालिका ८ का ५३ बर्षीय मथालु खवास रहेका छन् । उनीहरु सबैलाई हिजो उनीहरुकै घरबाट पक्राउ गरिएको र अनुसन्धान भइरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।