धरान: पोखरामा अन्तराष्ट्रिय एयरपोर्ट सन् २०२१ मा सञ्चालनमा आउनेछ । उक्त एयरपोर्ट सञ्चालन भएपछि पोखरामा खेलकोरुपमा प्याग्लाइडिङको आकाश साँघुरिनेछ, र विकल्पकोरुपमा प्रदेश नं १ को आकाश हुनेछ ।

नागरिक उड्यान प्राधिकरणले कोशीदेखि पुर्व बक्राहा खोलासम्मको ८६ किलोमिटर आकाश राखेपअन्तर्गतको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याण्डग्लाईडिङ संघ (नेफा)लाई हवाई खेलमैदानकोरुपमा दिइसकेको छ । नेफाका महासचिव शैलेन्द्र राउतका अनुसार पोखराको अन्तराष्ट्रिय एयरपोर्ट सञ्चालनमा आएपछि व्यवसायिक प्याराग्लाइडिङ थोरै मात्रामा रहनसक्ने तर खेलकोरुपमा भने नरहने सम्भाव्यता अध्ययनबाट देखिएको छ । उनी भन्छन्,‘खेलकोरुपमा रहन ठुलो आकाश चाहिन्छ । पोखरामा बर्षेनी एक, दुईटा राष्ट्रिय, अन्तर्राराष्ट्रिय खेलहरु भइरहेको छ । एयरपोर्ट सञ्चालन भएपछि पोखरामा हुन नसक्ने खेलहरु प्रदेश १ को ८६ किलोमिटर यही आकाशमा हुन्छ ।’

paragliding3

सन् २०२१ पछि प्रदेश नं १ मा प्याराग्लाइडिङको माध्यमबाट विदेशी पर्यटकहरु ओइरिने महासचिव राउतको भनाई छ । नेपालमा बर्षेनी हुने प्याराग्लाइडिङको क्रस कन्ट्री खेल धेरै राष्ट्र सहभागी हुने एक मात्र खेल हो । राउतका अनुसार पोहोर मात्र चीन, भारतसहित युरोप र अमेरिकका गरि २२ राष्ट्रका खेलाडीहरु सहभागी भएको थियो । ‘पोखरामा एयरपोर्टले स्पेश रहदैन । त्यसैले अब एक नम्बर प्रदेशमा बिशेषत धरान, उदयपुर क्षेत्रमा त्यति ठुलो मात्रामा विदेशी पर्यटक यही खेलबाट आउनसक्छ,’राउतले भने ।

क्रसकन्ट्री पाइलट एक पटक उडेपछि विश्वव्यापी प्रचारप्रसार गर्ने र त्यसले गर्दा धेरै विदेशी पर्यटकहरु यो क्षेत्रमा आउने राउतको भनाइ छ । उनका अनुसार विगतको बर्षमा पोखरामा आकाशमा व्यवसायिक फ्लाइट धेरै भएर साँगुरीदै गएपछि सोलो पाइलटहरु घट्दै गएको छ । बर्षमा १५ सय, २ हजार आउने सालो पाइलटहरु गत बर्ष ५ सय हाराहारी मात्र पोखरा आएको उनले बताए । ‘किन भन्दा आकाश सानो भयो । अब उनीहरुलाई विकल्पकोरुपमा यो क्षेत्रलाई उजागर गर्नुपर्छ, र हामी लागिरहेका छौं,’महासचिव राउतले भने ।

प्रदेश नं १ सगरमाथाको काखमा पर्ने भएकोले यो क्षेत्रबाट उडेर उचाईमा जादा सगरमाथा देखिन्छ । यसले नै विश्वका साहसिक पर्यटकहरुलाई प्याराग्लाइडिङमार्फत यो प्रदेशमा आकर्षित गर्ने राउतको भनाई छ । ‘यहाँको प्रदेश सरकार, पालिकाहरुले टेकअफ र ल्याण्डिङ मर्मतसम्भार, बाटो पुर्याउने मात्र काम गरिदियो भने हुन्छ । करोडौं बजेट पनि लाग्दैन । ठुलो पुर्वाधार चाहिदैन । टेकअफ र ल्याण्डिङको तयार गरे मात्र हुन्छ,’राउत भन्छन् ।