धरान: पार्टी एकताको लागि दबाब दिन भन्दै मोरङको सुन्दरहरैचा नगरपालिकाको बाँसबारीमा आज शनिबार नेकपाको प्रदेशस्तरीय युवा भेला आयोजना भयो ।

युवा भेला पार्टी एकताको लागि भनिएपनि भेला प्रधानमन्त्री केपी ओली गुटको मात्र आयोजनामा भएको एक सहभागीले बताए । भेलालाई सम्बोधन गर्ने नेताहरु पनि ओली गुटका थिए । भेलामा झापा, मोरङ र सुनसरीका युवाहरु भेला भएका थिए । ‘ओली पक्षको मात्र भेला हो । राजावादीहरुलाई काउन्टर दिन र प्रचण्ड, नेपाल, खनाललाई खबरदारी पनि हो,’ओली गुटकै एक युवाले क्लिकधरानसँग भने ।

भेलाको प्रमुख अतिथि पुर्वसञ्चारमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य गोकुल बास्केटा रहेका थिए । उनी प्रधानमन्त्री ओलीका प्रिय पात्र हुन् । यस्तै, राष्ट्रिय युवा संघ केन्द्रीय कमिटिका सहसंयोजक रमेश पौडेल, मदन भण्डारी फाउण्डेशनका प्रदेश १ संयोजक गोपाल गुरागाई, युवा नेता पर्शुराम बस्नेत, युवा नेतृ उर्मिला सुनुवार, वचन सिंहलगायतले सम्बोधन गरे । भेलाको संयोजक संघका केन्द्रीय सदस्य रविन थापाले गरेका थिए ।
संयोजक थापाले पार्टी एकता कायम रहनुपर्छ भनेर दबाब सृर्जना गर्न प्रदेशस्तरीय युवा भेला आयोजना गरिएको बताए । साथै जनताको बहुदलीय जनवाद कम्युनिष्ट आन्दोलनको मुल सिद्धान्त हुनुपर्छ भनेर पनि भेला आयोजना गरेको उनको भनाई थियो । ‘पार्टी एकता कायम रहनुपर्यो । जबज कम्युनिष्ट आन्दोलनको मुल सिद्धान्त हुनुपर्यो,’भेलाको उद्देश्यबारे थापाले भने,‘लोकतान्त्रिक गणतन्त्रको विकल्प नखोजियोस्, मरेको राजालाई बिउत्याउने प्रयास पनि नहोस् ।’

yuwa2

उनका अनुसार प्रमुख अतिथि एवं केन्द्रीय सदस्य बास्केटाले पनि पार्टी एकताको पक्षमा नै मन्तव्य राखेका थिए । बास्केटाले ७० बर्ष उमेर नाघेका नेताहरुलाई विदा दिएर पार्टीमा नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेको पनि थापाले जानकारी दिए । ‘उहाँले २ कार्यकालभन्दा बढी कसैलाई पनि कुनै पदमा जान नदिउ भन्नु भयो । सांसदमा पनि २ कार्यकाल भन्दा बढी हुनुहुदैन भन्ने धारणा थियो,’थापाले बास्केटाको भनाईको सारांशबारे भने ।

पार्टी भित्र ओली र प्रचण्ड माधव नेपाल गुटबीच तीब्र रस्साकस्सी चलिरहदा दुवै पक्ष गुटको भेला आयोजना गरिरहेका छन् । दुवै अध्यक्षले सचिवालय वैठकमा प्रस्तुत गरेको प्रस्तावले विवाद उत्कर्षमा पुगेर फुटको संघारमा पुगेको नेकपालाई गुटको भेलाले थप संकटमा पार्दै लगेको छ । ओली र प्रचण्ड नेपाल खेमाका नेतादेखि तल्लो तहका कार्यकर्ताहरुबीचमा नै अघोषित सितयुद्ध चलिरहेको छ ।

'गुटको भेलाले पार्टी होइन, गुट मात्र वलियो हुन्छ'

yuwa1

सुन्दरहरैचामा पार्टी एकताको लागि युवा भेला भनिए पनि गुटको मात्र भएको राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हिमाल लिम्बुले बताए । पुर्वएमाले सम्बद्ध युवा संघको पुर्वकेन्द्रीय सचिवसमेत रहेका लिम्बुले आजको भेला पार्टी वलियो बनाउन नभै गुट वलियो बनाउन आयोजना भएको दाबी गरे ।
लिम्बु माधवकुमार नेपाल पक्षका युवा नेता हुन् । ‘एकपक्षीय गुटको मात्र भेला हो, यस्तो गतिविधिले पार्टी वलियो होइन, फुटाउनको लागि शक्ति संचय गर्ने काम हो,’लिम्बुले भने,‘प्रदेशस्तरीय भेला हो भने आधिकारिक निर्णय हुनुपर्छ । प्रदेशमा कमिटि नै गठन भएको छैन, कसरी प्रदेशस्तरीय भेला हुन्छ ?’

'युवा भेलालाई गुटको भेला भन्नेहरु नै गुटबन्दीमा छन्'

yuwa3

आजको प्रदेशस्तरीय युवा भेलाका संयोजक थापा भने युवाहरुलाई गुटको भेला भन्नेहरु नै गुटबन्दी गरेर हिडिरहेको बताउँछन् । उनले युवाहरु पार्टी एकताको पक्षमा छन्, र युवाहरुको चाहना पार्टी एकता हो भन्ने सन्देश दिन भेला आयोजना गरिएको दाबी गरे । ‘यो विशुद्ध युवाहरुको भेला हो, कस्को आँखाले के देख्छ, त्यो सरोकार भएन । तर आजको भेला पार्टीको मुल प्रवाहको भेला हो,गुटको होइन,’थापाले भने,‘हजारौं युवाहरु भेला भएका छन्, यी युवाहरुको भविष्य हेरेर नै एकता कायम गर्नुपर्छ भन्ने हो ।’