धरान: धरान जेसीजको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शनिबार स्क्रैपबुक व्यवस्थापन तालिम र मुद्राको महत्व सम्बन्धी तालिम आयोजना गरेको छ ।
धरान १२ स्थित होटल पुर्वी स्टारमा भएको तालिममा विभिन्न क्षेत्रका २० जना युवाहरु सहभागी भएको धरान जेसीजका अध्यक्ष दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार यो दुवै तालिम धरानका युवाहरुको लागि नौलो किसिमको तालिम हो । धरान जसीजले भने आफ्ना सदस्यहरुलाई स्क्रैपबुक तालिम विगत पनि दिने गरेको थियो । यद्यपी, तालिम प्रदायक संस्थाहरुले यस्तो तालिम कमै आयोजना गर्ने गरेका छन् ।
स्क्रैपबुक तालिम धरान जेसीजका पुर्वअध्यक्ष मोहन श्रेष्ठले दिएका थिए । स्क्रैपबुक कसरी तयार गर्ने भनेर उनले सैद्धान्तिक तथा व्यवहारिकरुपमा प्रशिक्षण दिएका थिए । उनले आफुले तयार गरेको स्क्रैपबुक प्रस्तुत गरेर झण्डै अढाई दशकअघिको विभिन्न तस्बिरहरुको पृष्ठभुमीबारे वर्णन गर्दै स्क्रैपबुकको महत्वबारे प्रशिक्षार्थीहरुलाई बुझाएका थिए । उनले भने,‘कतिपय फोटोहरु, कागजपत्रहरु काम नलाग्ने भनेर फाल्न पनि सक्छौं, तर ती सबैलाई संग्रह गरेर किताबकोरुप दिदा बषौंपछि तिनै चिजहरु पनि कति महत्वपुर्ण हुन्छ भन्ने बुझाएको हुँ ।’

तालिमको दोस्रो सेसनमा नेपाल राष्ट्र बैंक विराटनगरका प्रधान सहायक नवदिप साहले मुद्राको महत्वबारे प्रशिक्षण दिएका थिए । उनले मुद्राको इतिहास, कति खालका मुद्रा छन् भन्नेदेखि नोट सफा नीतिको बिषयमा पनि प्रशिक्षण दिएका थिए । ‘नोट सफा नीति के हो ? नोट च्यात्दा के हुन्छ ? जाली नोट बनाउदा के हुन्छ भन्ने कुराहरुको बिषयमा प्रशिक्षण दिएको हुँ,’उनले भने ।
सातदिने जेसीज सप्ताहको शनिबार पाचौं दिन हो । सप्ताहव्यापी कार्यक्रमको मुल संयोजक दिनेश तामाङ हुन् भने शनिबारको तालिमको संयोजक रुविना शाक्य थिइन् । प्रशिक्षकमा पुर्वअध्यक्षद्धय मोहन श्रेष्ठ र गौरव सञ्जेल रहेका छन् । धरान जेसीजका तालिम निर्देशक प्रतिक श्रेष्ठका अनुसार सप्ताहव्यापी कार्यक्रम समुदायस्तरमा आयोजना गरेर मनाइने गरिएको छ । ‘समुदायसँग नजिक भएर समुदायस्तरमा विभिन्न कार्यक्रम गरेर सप्ताहव्यापी कार्यक्रम मनाउने गरिएको छ,’उनले भने ।

जेसीजका अनुसार पहिलो दिन उद्घाटनसँगै धरान जेसीज र बैंकर्स बीच मैत्रीपुर्ण फुटसल आयोजना भएको थियो भने दोस्रो दिन धरान प्रवेश गर्ने गाडीका यातायात मजदुरहरुलाई धरानको तीनकुनेमा मास्क, सेनिटाइजर, फेस सिल्ड, साबुनलगायत स्वास्थ्य सामग्री वितरण गरिएको थियो । तेस्रो दिन सडकमा जनचेतनामुलक रोड क्वीज कार्यक्रम गरेर स्वास्थ्य सामग्री उपहार दिइएको थियो । यसैगरि, चौथो दिन एचआइभी संक्रमित तथा प्रभावित बालबालिकालाई न्यानो कपडा वितरण र एक छाक खाना जेसीजले खुवाएको थियो भने शनिबार तालिम उत्सव कार्यक्रम अन्तर्गत स्क्रैपबुक र मुद्राको महत्वबारे तालिम आयोजना भएको थियो । छैटौ दिन आइतबार कुलमान घिसिङसँग मेनेजमेन्ट मन्त्र नामको डिजिटल कार्यक्रम हुनेछ भने सोमबार सातौं दिन जेसीज चौतारी कार्यक्रमसँगै सप्ताहव्यापी कार्यक्रम समापन हुने जेसीजले जनाएको छ ।







