विराटनगर: प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको आज शिलान्यास गरिने भएको छ ।

जेष्ठ नागरिक ग्रामको मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले विहान ११ बजे शिलान्यास गर्ने कार्यक्रम रहेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा पुर्व मिस नेपाल तथा जेष्ठ नागरिक ग्रामकी डिजाईनर शृखंला खतिवडा, सामाजिक अभियान्ता रमेश प्रसाई, मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी लगायतको उपस्थिति रहने छ ।

सामाजिक विकास मन्त्रालयले यसअघि गुरुयोजनाबारे सरोकारवालासँग छलफल र जेष्ठनागरिक ग्रामबारे जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल गरिसकेको छ । छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईएको शृखंला खतिवडाले बताइन् ।सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ ।

१० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने योजना बनाईएको छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ । भवन निर्माणको शिलान्यास पछि जेष्ठनागरिक ग्राम निर्माणले गतिलिने सामाजिक विकास मन्त्री घिमिरेले बताए । उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा जेष्ठनागरिक ग्राम स्तरिय बन्ने बताए । जेष्ठ नागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक रुपमा बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताए । उनले जेष्ठनागरिक ग्राममा चिल्ड्रेन पार्क पनि निर्माण गरिने बताए । चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने उनको भनाई छ ।