काठमाण्डौं: विपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित भएपनि सभामुख अग्निप्रसाद सापकोटा अनुस्थित भएपछि संवैधानिक परिषदको बैठक आज स्थगित भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमार्फत सभामुख सापकोटा अनुपस्थित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्,'विपक्षी दलका नेता उपस्थित, सभामुख अनुपस्थित ।' सभामुख अनुपस्थित भएपछि कोरम नपुग्ने भएकोले बैठक स्थगित भएको छ । उपसभामुख पद रिक्त भएकोले परिषदको बैठकमा सबै सदस्य उपस्थित नभए कोरम पुग्ने अवस्था छैन ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए। विभिन्न संवैधानिक निकायमा रिक्त रहेको पदपूर्तिका विषयमा छलफल गर्ने बैठकको कार्यसुची रहेको थियो । अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित विभिन्न आयोगमा ४५ पद रिक्त छन्।

meeting1

सभामुख अनुपस्थित हुनुको मुख्य कारण नेकपाको आन्तरिक विवाद मानिएको छ । नेकपा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच विवाद जारी छ । यसैको प्रभाव संवैधानिक परिषद बैठकमा परेको अडकलबाजी भइरहेको छ । सभामुख सापकोटा पुर्वमाओवादी नेता हुन् । त्यसैले उनी प्रचण्ड निकट हुन् । संवैधानिक बैठकमा ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति देउवासँग भेट गरेर गोप्य सहमति गरेको तर पार्टीलाई वेवास्ता गरेको भन्दै प्रचण्ड असन्तुष्ट छन् । बैठकमा अनुपस्थित सभामुख सापकोटाले भने अध्यक्ष र सदस्यहरुबीच समन्वय नभएकोले बैठकमा नआउने जानकारी गराएको बताइएको छ । आइतबार पनि विपक्षी दलका नेता कांग्रेस सभापति देउवा अनुपस्थित हुने भएकोले बैठक स्थगित भएको थियो ।