धरान: मन्त्रीपरिषद बैठकबाट संसद विघटनको सिफारिश गर्ने निर्णय गराएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति कार्यालय पुगेका छन् ।

प्रधानमन्त्री ओली संसद विघटनको सिफारिश लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सितल निवास पुगेका छन् । नेकपाभित्रको आन्तरिक विवाद टुंगोमा नपुग्दा अन्ततः संसद विघटन हुने अवस्था सृर्जना भएको हो । आज बिहान आकस्मिक मन्त्रीपरिषद बैठकले संसद विघटनको सिफारिश गर्ने निर्णय गरेको थियो । बैठकमा केही मन्त्रीहरुले विघटन सिफारिशको प्रतिवाद गरेपनि प्रधानमन्त्री ओलीले उनीहरुको कुरा नसुनेको बताइएको छ ।

संसद विघटनको निर्णयप्रति नेकपाकै नेताहरुले पनि विरोध जनाइरहेका छन् । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका शीर्ष नेताहरुले पनि विरोध गरिरहेका छन् भने प्रमुख प्रतिपक्षी कांग्रेस र कानुनविदहरुले पनि प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको टिप्पणी गरिरहेका छन् ।