धरान: नेकपा(ओली समूह)ले पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खासेको छ ।

आज बालुवाटारमा बसेको ओली समुहको केन्द्रीय समिति बैठकले प्रचण्डको अध्यक्षको कार्यकारी अधिकार खोसेको हो । तर, प्रचण्डलाई अध्यक्ष पदबाट भने नहटाइएको केन्द्री कमिटी सदस्य मोतीराज सुनुवारले जानकारी दिए । उनले भने,‘अध्यक्ष पदबाट हटाइएको होइन, कार्यकारी अधिकार मात्र खोसिएको हो ।’

बैठकले विभिन्न ७ प्रदेश र जनवर्गीय संगठनको इञ्चार्जहरु पनि तोकेको छ । बैठकले प्रचण्ड माधव समुहमा रहेका प्रदेश इञ्चार्जहरुलाई हटाउदै ओली समुहका नेतालाई जिम्मेवारी दिएको छ । प्रदेश नं १ का इञ्चार्ज भीम आचार्यलाई ओली समुहको बैठकले हटाएर स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई जिम्मेवारी दिने निर्णय गरेको छ । आचार्य पनि स्थायी कमिटी सदस्य हुन् । उनी माधवकुमार नेपाल पक्षका नेता हुन् ।

nekapa2

प्रदेश नं २ को इञ्चार्जमा यसअघि कै नेता सत्यनारायण मण्डललाई निरन्तरता दिइएको छ भने बागमती प्रदेश इन्चार्जबाट अष्टलक्ष्मी शाक्यलाई हटाउने निर्णय भएको छ । बागमति प्रदेशको इञ्चार्जमा ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ । यसैगरि, कर्णाली प्रदेश इन्चार्जबाट पनि जनार्दन शर्मालाई हटाइएको छ । त्यहाँको इञ्चार्जमा मणि थापालाई जिम्मेवारी दिइएको छ भने सुदुरपश्चिम प्रदेश इञ्चार्जबाट भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशको इञ्चार्ज जिम्मेवारी पाएका थापा र भट्ट पुर्वमाओवादी खेमाका नेता हुन् । तर, उनीहरुले प्रचण्ड माधव समुहलाई साथ नदिई ओली पक्षमा लागेका छन् ।

यस्तै, गण्डकी प्रदेश इन्चार्जमा पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेश इन्चार्जमा शंकर पोखरेल छन् । उनीहरु यसअघि पनि सोही प्रदेशका इञ्चार्ज थिए । दुवै प्रदेशका मुख्यमन्त्री पनि छन् । उपत्यका इञ्चार्जमा कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी पाएका छन् । यसैगरि, प्रचण्डलाई छोडेर ओलीलाई साथ दिएका पुर्वमाओवादी खेमाका नेता टोपबहादुर रायमाझीलाई जनसंगठन इन्चार्जको जिम्मेवारी बैठकले दिएको छ ।

प्रचण्ड-माधव समुहद्धारा चरणबद्ध संघर्ष गर्ने निर्णय 

prachanda-madhav

आज नै बसेको नेकपा(प्रचण्ड-माधव) समुहको बैठकले भने संघर्षको चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । बैठकका निर्णयहरु सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले उनकै नेतृत्वमा २५०१ सदस्यीय केन्द्रीय संघर्ष समिति गठन गरेको पनि जानकारी दिए । साथै, संघर्ष समितिको सचिवालय पनि गठन गरिएको उनले बताए ।

प्रवक्ता श्रेष्ठका अनुसार भोली पुष १० गते बिहान साढे ९ बजे माइतीघर मण्डलामा र १२ बजे निर्वाचतन आयोगमा केन्द्रीय कमिटि सदस्यहरु र सांसदहरुको उपस्थितिमा बिशेष कार्यक्रम सञ्चालन गरिनेछ । भोली नै राजधानीमा पार्टी अध्यक्षहरुको तर्फबाट पत्रकार सम्मेलनको दिउँसो २ बजे आयोजना गरिने पनि उनले बताए । यसैगरि, पुष ११ गते प्रदेश कार्यालयको संयोजनात्मक छलफल हुने र ७ दिन भित्र प्रदेश कमिटिको बैठक सम्पन्न गर्ने निर्णय गरेको पनि उनले बताए ।

यसैगरि, पुष १२ गते ७७ जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेलाहरु सम्पन्न गरेर पार्टी एकताविरुद्धको षडयन्त्रहरुलाई कसरी चिर्ने र प्रतिगमनविरुद्ध संघर्ष कसरी अघि बढाउने भनेर अभिमुखीकरण कार्यक्रम गरिने पनि श्रेष्ठले बताए । पुष १४ गते राजधानीमा र जिल्ला जिल्लामा संसद विघटन र प्रतिगामीविरुद्ध विरोध प्रर्दशन कार्यक्रम सञ्चालन गर्ने, पुष २० गते सम्म सबै नगर र गाउँपालिकाहरुमा बैठक भेलाहरु आयोजना गर्ने, पुष २५ गतेसम्म सबै वडास्तरमा बैठक भेलाहरु आयोजना गर्नेलगायत निर्णयहरु भएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।