धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टेलमा साथी लिएर प्रवेश गरेका एक इन्टर्न विद्यार्थीले गुण्डागर्दी शैलीमा तोडाफोड गरेका छन् ।

गए राती करिब ११ बजेतिर इन्टर्न रोशन यादवले होस्टेलमा तोडफोड गरेका हुन् । मादकपदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई पनि अवैधरुपमा होस्टेलमा प्रवेश गराएको खुलेको छ । होस्टलमा विद्यार्थीबाहेक अन्य व्यक्तिहरु प्रवेश गर्न पाइदैन । यादवले आफ्ना साथीलाई कसरी प्रवेश गरायो भनेर सुरक्षा प्रशासनले पनि छानबिन गर्ने र गार्डलाई कारबाही गर्ने भएको प्रतिष्ठानको होस्टल प्रशासनले जनाएको छ ।

मातेर होस्टलमा तोडफोड गर्ने दुवैलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनीहरुले होस्टलको मेन ढोकाबाट प्रवेश गरेपछिको करिडोरका सिसाहरु फुटाएका छन् । साथै उनीहरुले अन्य इन्टर्न तथा विद्यार्थीहरुलाई पनि गुण्डागर्दीशैली धम्क्याएको पाइएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । ‘अनधिकृत व्यक्ति कसरी भित्र प्रवेश गर्यो भनेर सेक्युरिटी इञ्चार्जलाई सोधेका छौ, गार्डलाई कारबाही गछौं भनेको छ,’स्रोतले भन्यो ।

डिएसपी ज्ञानेन्द्र बस्नेतले पक्राउ परेका दुवै जनालाई कानुनी कारबाही हुने बताए । तोडफोडमा संलग्न इन्टर्न यादव पटक पटक कानुनी कारबाहीमा परेका व्यक्ति हुन् । यसअघि पनि उनले हेल्मेट विना मोटरसाइकल चलाउदा ट्राफिक प्रहरी कारबाहीमा परेपछि रड प्रहार गरेर ट्राफिक प्रहरीलाई नै घाइते बनाएका थिए भने प्रतिष्ठानको चेक काण्डमा पनि कानुनी कारबाही भोगेका व्यक्ति हुन् ।