धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डेढलो अझै नियन्त्रणमा आएको छैन ।

ठुलो क्षेत्रफलमा फैलिएको डढेलो प्रसिद्ध धार्मिकस्थल एवं शक्तिपिठ पाथीभारा मन्दिर नजिकैसम्म पुगिसकेको छ । जसले गर्दा पाथीभारा मन्दिर पनि जोखिममा रहेको भन्दै चिन्ता प्रकट हुन थालेको छ । ठुलो वन क्षेत्रमा सुकेको रुखहरुमा आगो सल्किएको हुनाले मानवीय प्रयासमा नियन्त्रण गर्न सम्भव नभएको ताप्लेजुङका सिडिओ झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए । ‘मानिसले नियन्त्रण गर्नसक्ने अवस्था नै छैन, प्रयास चै भइरहेकै छ,’सिडिओ चापागाईले भने ।

उनका अनुसार बिहान पाथीभारा मन्दिर आसपासमा आगो पुगेपनि अहिले मन्दिरलाई सुरक्षित बनाइएको छ । नेपाली सेनाका मेजरको टोली नै त्यसक्षेत्रमा छन् । मन्दिरलाई सुरक्षित गर्न वरिपरी फायर लाइन बनाइएको र मन्दिर नजिकै पुगेको आगो निभेको पनि सिडिओ चापागाईले जानकारी दिए । ‘पाथीभारा मन्दिर अहिले सुरक्षित छ, फायरलाइनले जोखिम टर्यो,’उनले भने । अहिलेसम्म डेढ सय रोपनी क्षेत्र डढेलोले नष्ट भइसकेको सिडिओ चापागाईको भनाई छ ।

santosh-purkuti,-Rasasa

पाथीभारा मन्दिर क्षेत्रमा लागेको डढेलो नियन्त्रणको प्रयास गर्दै प्रहरी । तस्बिर स्रोत: सन्तोष पुर्कुटी रासस

सुकेको रुख र पातहरु, हावाको बेग र पानीको अभावले गर्दा आगलागी नियन्त्रणमा आउन नसकेको सिडिओ चापागाईले जानकारी दिए । आकाशबाट बर्षा नभएसम्म आगलागी नियन्त्रण नहुने उनले बताए । ‘जे जति गर्नसकिन्छ, गरेका छौं । फैलन नदिन प्रयास गर्यौं, तर हावा चलेपछि आगो फैलियो,’सिडिओ चापागाईले भने,‘त्यसक्षेत्रमा पानी छैन, मासिनले आगो निभाउन सम्भव भएन, पानी नपरेसम्म आगो निभ्ने अवस्था भएन ।’ पाथीभारा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समितिले हेलिकप्टरबाट पानी हाल्ने निर्णय गरेको छ । तर, आगलागी ठुलो क्षेत्रफलमा फैलिएकोले प्रभावकारी होला कि नहोला भन्ने द्धिविधा पनि छ ।