धरान: वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ईन्टरनेट सेवा प्रदायक कम्पनी सुविसुको सेवा भरपर्दो नभएको भन्दै फ्याकल्टी, जुनियर रेसिडेन्ट एवं विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
प्रतिष्ठानमा सुविसुको एकाधिकार भएको तर सेवा भने ज्यादै सुस्त एवं दयनीय अवस्थामा रहेको भन्दै फ्याकल्टी, रेसिडेन्ट एवं विद्यार्थीहरुले ईन्टरनेट सेवा प्रदायक सुविसुको विकल्प खोज्नुपर्ने माग गर्दै आन्दोलन शुरु गरेका हुन् । उनीहरुले मंगलरदेखि प्रतिष्ठानको उपकुलपति कार्यालयअघि धर्ना दिइरहेका छन् । आज पनि दिउँसो ३ बजेदेखि ४ बजेसम्म धर्ना कार्यक्रम रहेको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीले जानकारी दिए ।
उनका अनुसार धेरै सेवाग्राही भएको प्रतिष्ठानमा सहुलियतमा सेवा पाउनुपर्नेमा बाहिरभन्दा महंगो दर छ भने सेवा पनि सुस्त छ । एउटा डिभाइसमा लगइन भयो भने अर्को डिभाइसमा इन्टरनेट चलाउन सकिदैन । ‘मैले मोवाइलमा जडान गर्दा ल्यापटमा चल्दैन, भनेको जति स्पिड पनि हुदैन,’उनले भने,‘हामीले इन्टरनेटबाटै अध्ययन गर्ने हो, रिसर्च हेर्ने हो । भिडियो कन्फ्रेन्स गर्नुपर्ने हुन्छ, तर इन्टरनेट सुस्त भएर ज्यादै दुःख पाइराखेका छौं ।’
मानसिक बिभागका सहायक प्राध्यापक डा.मधुर बस्नेतले आफु विद्यार्थी हुँदादेखि ईन्टरनेटको गुणस्तरबारे आवाज उठाइरहेको तर अझैसम्म पनि समाधान नहुनु दुःखद भएको बताए । उनले भने,‘ईन्टरनेट खाना जतिकै आधारभुत आवश्यकता भइसकेको छ, म विद्यार्थी हुँदादेखि आन्दोलन शुरु गरेको, अहिले एसोसिएट प्रोफेसर भइसक्दा पनि समस्या यथावत छ ।’
शिक्षक कल्याण समाजका महासचिव डा. सुर्य रिमालले ईन्टरनेट सेवा प्रदायक संस्थाकोबिरुद्ध नभै गुणस्तरीय ईन्टरनेट सेवा सुविधा पाउनुपर्ने माग भएको बताए । एउटा नगरपालिका वा गाउँपालिकाको जति प्रयोगकर्ता प्रतिष्ठान भित्रै रहेको भन्दै उनले यसरी कुनै एक प्राइभेट सस्थालाई मात्र फाइदा हुने गरि एकाधिकार दिन नमिल्ने बताए ।
प्रतिष्ठानमा करिब ९ बर्षदेखि सुविसुले ठेक्कामार्फत ईन्टरनेट सेवा दिइरहेको छ । पहिलो ५ बर्ष ठेक्का पाएको सुविसुसँग प्रतिष्ठानले पछि थप ५ बर्षको लागि नविकरण गरेको बताइएको छ । सुविसुको अझै एक बर्ष अवधि बाँकी रहेको छ । अन्य ईन्टरनेट सेवा प्रदायकहरु सस्तो र राम्रो सेवा दिइरहे पनि प्रतिष्ठानमा अन्य ईन्टरनेट सेवा लिन पाइदैन । प्रतिष्ठानभित्र ५ हजारभन्दा बढी इन्टरनेट प्रयोगकर्ताहरु छन् ।