धरान: धरानबाट खैरो हेरोइनसहित दुई जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान १३ का २४ बर्षीय सचिन प्रधान र केराबारी गाउँपालिका ५ का २४ बर्षीय सन्दिप राई रहेका छन् । ईलाका प्रहरी कार्यालय धरानका अनुसार हिजो राती ७ बजे सचिन शंकास्पद अवस्थामा फेला परेका थिए । उनको शरीर खानतलासी गर्दा पाइन्टको गोजीमा लुकाएको अवस्थामा १ ग्राम खैरो हेरोइन फेला परेको थियो । उनलाई सोधपुछ गर्दा खैरो हेरोइन केराबारीका सन्दिरसँग खरीद गरेको खुलेको थियो ।
प्रहरीले सन्दिपलाई खोजी गर्दा उनी धरान वडा नं ६ पानवारीमा फेला परेका थिए । उनको पनि खानतलासी गर्दा पाइन्टको गोजीमा लुकाएर बोकेको ७ सय मिलिग्राम खैरो हेरोइन फेला परेको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार दुवैलाई आज जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।