धरान: खाद्य स्वच्छता कायम गराउने उद्देश्यले धरानका होटल, रेष्टुरेष्ट एवं क्यान्टिन सञ्चालकहरुलाई २ दिने खाद्य स्वच्छता तालिम दिइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, इनरुवाको आयोजनामा धरानमा २ दिने होट स्टे तथा होटल, रेष्टुरेष्ट, क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता तालिम दिइएको हो । सुनसरी उद्योग वाणिज्य संघ सहआयोजक रहेको तालिममा धरानका ३७ जना होटल तथा रेष्टुरेष्ट सञ्चालकहरु सहभागी भएको संघका कार्यसमिति सदस्य रामस्वरुप शर्माले जानकारी दिए ।

संघको हलमा आयोजित तालिममा डिभिजन कार्यालय प्रमुख काशीनाथ घिमिरेले खाद्य स्वच्छता तथा गुणस्तरबारे सहजीकरण गरेका थिए भने होटल, रेष्टुरेष्टहरुको अवस्था र व्यवस्थापनबारे पनि उनले सहजीकरण गरेका थिए । उनले खाद्य स्वच्छताको आधारमा होटल, रेष्टुरेष्ट स्तरीकरण गर्ने सम्बम्धी निर्देशिका २०७४ बारेमा विस्तृतरुपमा प्रष्ट पारेका थिए ।

khadya

तालिममा नवोदय कलेजका होटल म्यानेजमेन्टका सहप्राध्यापक गगन श्रेष्ठले होटलको सेवा सत्कार(हस्पिटालिटी)बारे सहजीकरण गरेका थिए । उनले पाहुनाहरुलाई कसरी सेवा सत्कार गर्ने, सञ्चालक तथा कर्मचारीहरुले कस्तो ड्रेसअप गर्ने, कसरी प्रस्तुत हुनेलगायतको बिषयमा प्रष्ट्याएका थिए । यसैगरि, केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका उपप्रध्यापक बबिता अधिकारीले खाद्य ऐन २०२३ अनुसार खाद्य पदार्थको लेबल सम्बन्धी प्रावधानबारे जानकारी गराएकी थिइन् । होटल, रेष्टुरेष्टहरुमा खाद्य स्वच्छता कायम भएर स्तरोन्नती गर्ने उद्देश्यले तालिम आयोजना गरिएको सुनसरी उद्योग वाणिज्य संघका महासचिव राजेश अग्रवालले जानकारी दिए ।