धरान: महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले धरान १५ मा निःशुल्क ढाका कपडाको झोला बनाउने तालिम शुरु भएको छ ।

धरान उपमहानगरपालिका १५ नम्बर वडा कार्यालको सहयोगमा हातेमालो उद्यमी महिला समुहले तालिम आयोजना गरेको हो । रेयुकाई भवनमा बिहिबारदेखि शुरु भएको तालिम ३० दिनसम्म हुने आयोजक संस्थाकी अध्यक्ष लिला ढकालले जानकारी दिइन् । तालिमको उद्घाटन वडा नं १५ का अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि नरेश इवारमले गरेका थिए ।

वडाअध्यक्ष इवारमले समुह सक्रिय भएको र धेरै महिलाहरुलाई आत्मनिर्भर बनाउन सक्षम भएको भन्दै प्रशंसा गरे । महिला सञ्जालले धरानमा आयोजना गरेको उद्यमी मेलामा धरान १५ को हातेमालो समुहले आफ्नो उत्पादन लगेर बिक्री र प्रर्दशन गरेको स्मरण गर्दै अध्यक्ष इवारमले वडाको लगानी सही ठाउँमा भएको आफुलाई महसुस भएको धारणा व्यक्त गरे । अध्यक्ष इवारमले समुहलाई तालिम आयोजनाको लागि थप ५ वटा सिलाई मेशिन सहयोग गर्ने पनि प्रतिवद्धता जनाएका थिए ।

mahila-dharan

तालिम आयोजनाको लागि वडा कार्यालयले ७० हजार रकम सहयोग गरेको जनाएको छ । तालिममा वडा १५ का १५ जना महिलाहरु सहभागी छन् । उद्घाटन समारोहमा महिला सञ्जालकी निवर्तमान अध्यक्ष सविता राईले पनि हातेमालो समुहको प्रशंसा गर्दै महिला उद्यमीहरु उत्पादन गर्न सफल भएको बताइन् । धेरै महिलाहरुलाई स्वरोजगार बनाउदै प्रशिक्षक समेत बन्न सफल भएको उनले बताइन् । साथै, उनले फोहोर भनेर फालेको प्लाष्टिकको बोराबाट पुनःप्रयोग गर्नसक्ने खालको तालिमहरु आयोजना गर्न पनि सुझाव दिइन् । ढाका कपडाको झोलाको फिनिसिंग राम्रो भएमा बजार पाउन समस्या नहुने उनले बताइन् । अध्यक्ष ढकालले महिलाहरु बेरोजगार हुँदा आर्थिकरुपमा श्रीमानको भर पर्नुपर्ने बाध्यता हटाउने उद्देश्यले तालिमहरु निरन्तर आयोजना गरिरहेको बताइन् ।