विराटनगर: ईलाम र झापाका दुई छुट्टाछुट्टै स्थानमा बिहिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।
ईलामको माङसेबुङ गाउँपालिका २ भोटेडाँडामा गोलिया बोकेको ट्रक दुर्घटना हुँदा ट्रकका सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । बिहिवार बिहान पाँचथरको रविबाट दमक तर्फ गोलिया बोकेर जाँदै गरेको ना ३ ख २०५ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाईते भएका ट्रकका सह चालक मिक्लाजुङ गाँउपालिका ४ पाँचथरका ३५ बर्षीय किरण राईलाई उपचारको लागी दमक लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका ११ दुधेको भित्र सडक खण्डमा ट्रकले साईकलमा यात्रा गरिरहेका स्थानीय १३ बर्षीय बालक भिम बहादुर राईलाई ठक्कर दिंदा बालकको मृत्यु भएको छ। बिहिवार बिहान मे १ ख ३३९२ नम्बरको ट्रकले ठक्कर दिंदा घाईते भएका बालकको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझीलेले जनाएको छ ।