विराटनगर: १ नम्बर प्रदेशको झापा र मोरङ जिल्लाको तीन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका ३ झिलमिले पुल नजिकै शनिवार दिउँसो १ बजे मे १ च ५३९६ नम्बरको पिकअप र मे २ प ६९८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्किएको थियो । उक्त दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक झापा अर्जुनधाराका ५३ बर्षीय छत्र बहादुर मगरको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुधवारेले जनाएको छ ।
यसैगरी, झापाकै शिवसताक्षी नगरपालिका १ धरमपुरमा शनिवार राती पौने ९ बजे मे ३ प ९८९६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना भएको थियो । उक्त दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका ११ का ३७ बर्षीय छबिरमन ढकालको पनि बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
हिजो, शनिवार नै दिउँसो साँढे २ बजे मोरङको उर्लावारी नगरपालिका ८ मा को २० प ९७२७ नम्बरको मोटरसाईकलले ठक्कर दिदा एक बालिकाको मृत्यु भएको छ । उक्त मोटरसाइकलले पैदल यात्री स्थानीय दिपिका ओझाको ७ बर्षीया छोरी अजिति ओझालाई ठक्कर दिंदा घाईते भएकी थिइन् । ती बालिकाको गोदावरी अस्पताल उर्लावारीमा उपचारको क्रमम मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।