धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न विभागीय प्रमुखहरु हेरफेर भएको छ ।

तीन बर्षको कार्यकाल पुरा भएका विभागीय प्रमुखहरु हेरफेर भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका सह-प्रवक्ता डा.चुडामणी पोखरेलले भने,‘कार्यकाल पुरा भएको विभागीय प्रमुखहरु परिवर्तन भएको हो ।’ प्रतिष्ठानको कार्यकारिणी समितिले विभागीय प्रमुखहरुको कार्यकाल ३ बर्षको हुने निर्णय गरेको छ । सोही अनुसार कार्यकाल पुरा गरेका विभागहरुका प्रमुख आज(आइतबार) देखि हेरफेर भएको हो ।

प्रतिष्ठानका अनुसार मेडिसिन विभागमा डा.रविन मास्के प्रमुख भएका छन् भने प्रसुती विभागमा डा.पप्पु रिजाल नियुक्त भएका छन् । एनेस्थेसियाको विभागीय प्रमुखमा डा.एस.एन.सिंह, प्याथोलोजी विभागमा डा.स्मृति कार्की, बायोकेमेष्ट्री विभाग प्रमुखमा डा.निर्मल बराल, कम्युनिटी मेडिसिनमा डा.पारस पोखरेल नियुक्त भएका छन् ।

यसैगरि, सर्जरी विभागमा डा.राकेश गुप्ता, जनरल प्राक्टिस एण्ड इर्मजेन्सी मेडिसिन विभाग प्रमुखमा डा.ज्ञानेन्द्र मल्ल र डर्माटोलोजी विभागीय प्रमुखमा डा.सुधा अग्रवाललाई नियुक्त भएका छन् । उनीहरु विगतमा अर्को व्यवस्था नभएसम्मको लागि कार्यवाहक विभागीय प्रमुख थिए । अब भने सोही मितिदेखि लागुहुने गरि प्रमुखमा नियुक्त भएका हुन् । ‘सर्जरी, इर्मजेन्सी र डर्माटोलोजीमा उहाँहरु पहिला नै अर्को व्यवस्था नभएसम्म विभागीय प्रमुख हुनुहुन्थ्यो, अब कन्फर्म प्रमुख हुनुभएको छ,’एक पदाधिकारीले भने ।

प्रतिष्ठानले डेन्टलतर्फ पनि अर्थोडोन्टिक्स विभाग प्रमुखमा डा.राजेश ज्ञवाली, कन्जरनेटिभ डेन्ट्रष्ट्रिमा डा.मन्नुबिक्रम साह नियुक्त भएका छन् । यस्तै, पेडियाड्रिक नर्सिङमा रमानन्द चौधरी, मेडिकल सर्जिकल नर्सिङमा गयानन्द मण्डल र मेटरनल नर्सिङमा मंगला श्रेष्ठ प्रमुखमा नियुक्त भएका छन् । ‘जुन विभागमा २ जना प्रोफेसर छन्, त्यहाँ प्रोफेसर नै हेरफेर गरेर नियुक्त भएको छ, जुन विभागमा अर्को प्रोफेसर छैन, त्यहाँ एडिस्नल प्रोफेसर नियुक्त भएका छन्,’स्रोतले भन्यो ।