धरान: प्रदेश १ का सभामुख प्रदिप कुमार भण्डारीले मुलुकको अर्थतन्त्र विकासको लागि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने बताएका छन् ।
धरान ७, शुक्रपथ(पानवारी बस स्टेण्ड नजिकै)मा सोमबार शुभम कृषि उपज बजारको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गदै अगाडि बढाउनुपर्ने बताए । निजी क्षेत्र अघि बढ्न सक्यो भने मात्र हरेक क्षेत्रको विकास गर्न सकिने बताए । ‘मुलुकको अर्थतन्त्र विकासको लागि निजी क्षेत्रलाई हात लिनुपर्छ,’सभामुख भण्डारीले भने,‘निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न सके हामी मात्र हाम्रो उद्देश्यमा पुग्न सक्छौं ।’
धरानका मेयर तिलक राईले किसानहरुले कृषि उत्पादन गरेको कृषि उत्पादनले सही मुल्य पाउनुपर्ने बताए । कृषि उत्पादनमा विचौलियाहरुको दबदबा भएकोले किसानले सही मुल्य नपाउने र उपभोक्ताहरुले महंगोमा खरीद गर्नुपरिरहेको मेयर राईको भनाई थियो । उनले बजारमा मुल्य निर्धारण पारदर्शी गर्नुका साथै व्यवसायीहरुलाई वचत र विमा गर्न पनि आग्रह गरे ।
उपमेयर मञ्जु भण्डारी सुबेदीले व्यावसायीले आफ्नो लगानी सुरक्षित गदै उपभोक्ताको हितमा काम गर्नुपर्ने बताइन् । उनले बजारमा कृषक तथा उपभोक्ता मारमा नपर्ने गरी सही मुल्यमा बिक्री वितरण हुने वाताबरण सिर्जना गर्नुपर्ने बताए । ‘विचौलियाको कारण हरेक चिजहरुमा १०–१५ रुपैयाँ महंगोमा खरिद गर्नुपर्ने बाध्यता छ, यो हुनुहुदैन,’उपमेयर भण्डारीले भनिन्,‘कृषक र उपभोक्ता दुबै मारमा नपर्ने गरी उचित मुल्यमा किनबेच गर्ने एकदम शुलव बजार बनोस् ।’
कार्यक्रमलाई सम्बोधन गर्दै ८ नम्बर वडाका अध्यक्ष जीवन सुवेदी, सुनसरी उद्योग वाणिज्य संघका सचिव सीताराम आचार्यले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । बजारको अध्यक्ष काजी गिरीका अनुसार ४ जना मिलोर ९१ लाख लगानीमा बजार सञ्चालनमा आएको हो । बजार सञ्चालकहरुमा गिरीसँगै मुक्तीबन्धु अधिकारी, रुद्र बहादुर न्यौपाने र दिल बहादुर राई रहेका छन् ।
उनीहरुले ५ कठ्ठा जमिन ११ बर्षसम्मको लागि लिजमा लिएर बजार सञ्चालनमा ल्याएको हो । किसानहरुको उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याएको अध्यक्ष गिरीले बताए । कृषि उपज किनबेचको लागि १ ओपन सेटसहित ५९ वटा स्टलहरु रहेको छ । उपभोक्ताको लागि एकै थलोमा तरकारीजन्य उत्पादन, माछा मासु, फलफुलसहित फेन्सी पसलहरु पनि रहेको छ ।
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || प्रबन्ध निर्देशक: सुनिता केसी राई || फाेटाे सम्पादक: विकास चाम्लिङ
Click Dharan Media (P) Ltd. || फोन: ९८१४३२३६४६ || इमेल: [email protected]
कम्पनी दर्ता नं. २३६५०० || स्थायी लेखा नं.: N/A || प्रेस काउन्सिल नेपाल: N/A || सुचना तथा प्रसारण विभाग: N/A
प्रतिलिपि अधिकार © 2020 / 2021 - क्लिक धरान - सर्वाधिकार सुरक्षित