धरान: एनआइसि एसिया बैंक धरान शाखाको एटिएम मेशिन फुटाएर चोरी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीका अनुसार धरान १२ महेन्द्र पथस्थित एनआइसि एसियाको एटिएम मेशिन आइतबार साँझ करिब ७ बजे फुटाएर चोरी भएको थियो । उक्त घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धरानले सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्नलाई हिजो सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा कोशी गाउँपालिका ३ कोशीकटान जुद्धगञ्ज घर भई धरान ३ मा डेरा गरि बस्ने २३ बर्षीय सुभान मन्सुरी रहेका छन् ।

atm

डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार उनलाई हिजो साँझ करिब ५ बजे धरान १८ स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान हाता भित्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका मन्सुरी यसअघि पनि गाउँमा नै चोरीमा पक्राउ परेका थिए । उनी धरानमा ज्याला मजदुरी काम गर्ने गरेको पनि डिएसपी बस्नेतले जानकारी दिए ।