झापा: मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले चोरी भएका मोटरसाईकलसहित जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईलामको माई नगरपालिका २ का २२ बर्षीय क्षितिज भनिने रोशन तामाङ, २० बर्षीय रोशन बुढाथोकी, माई नगरपालिका ६ का २० बर्षीय रोशन गिरी, ३० बर्षीय राजेश गिरी, २० बर्षीय मनिष गिरी, फाल्गुनन्द गाउँपालिका ३ घर भई बिर्तामोड बस्ने २१ बर्षीय रोशन भन्ने पासाङ तामाङ र सिदिङवा गाउँपालिका ४ का २२ बर्षीय सन्दिप लिम्बु रहेका छन् ।

चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गर्न अप्रेशन हण्ट नाम दिई अनुसन्धान शुरु गरेको थियो । बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिका क्षेत्रहरुमा मोटरसाईकल र स्कुटरहरु चोरी भइरहे पछि प्रहरीले अप्रेशन हण्ट सञ्चालन गरेर मिहिनरुपमा अनुसन्धान शुरु गरेको थियो । सोही क्रममा चोरी भएको ४ थान मोटरसाईकलसहित ७ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । अन्य ११ थान मोटरसाईकल बिभिन्न स्थानहरुबाट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।