धरान: धरान १२ छिमेकी लाइनस्थित एक महिला आफ्नै घरको कोठाभित्र सिरक ओढेर सुतेको अवस्थामा मृत फेला परेकी छिन् ।

स्थानीय ४२ बर्षीय यशोदा तामाङ आफ्नै घरभित्रको कोठामा मृत अवस्थामा भेटिएकी हुन् । शनिबार दिउँसोसम्म स्थानीय छिमेकीले हिडडुल गरेको देखे पनि ३ दिनदेखि देखा नपरेको र उनको घरबाट गन्ध पनि आउन थालेपछि आज दिउँसो प्रहरी र मृतकको एक जना आफन्तसहितको उपस्थितिमा घरको ढोका फोडिएको थियो । कोठाभित्र हेर्दा ती महिला सिरक ओढेर सुतिरहेको अवस्थामा थिइन् भने उनको टाउकोको मासु कुकुर र बिरालोले खाइसकेको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।

डिएसपी बस्नेतका अनुसार मृतक महिलाको श्रीमानको गत कार्तिकमा मृत्यु भएको थियो । उनी एक तले पक्की घरमा एक्लै बस्दै आइरहेकी थिइन् । उनको घरमा ४ वटा कुकुर र २ वटा बिरालो रहेको र उनको मृत्यु पछि खान नपाएर मृत्यु भएकी ती महिलाको टाउकोको मासु खाएको हुनसक्ने डिएसपी बस्नेतको भनाई छ । ‘शनिबार बेलुकी सिरक ओढेर सुतेको अवस्थामा नै मृत्यु भएको हुनसक्छ । घरमा पालेको कुकुर र बिरालोले केही खान नपाएपछि मृतककै मासु खाएको देखियो,’डिएसपी बस्नेतले भने,‘गन्ध आउन थालेपछि छिमेकीले झापामा भएको भतिजलाई बोलाएछन्, प्रहरीलाई पनि खबर गरेपछि ढोका फोडेर हेर्दा टाउकोको मासु कुकुर र बिरालोले खाइसकेको अवस्थामा थियो ।’ प्रहरीले घटनाबारे आवश्यक कानुनी प्रक्रियाको कार्य अघि बढाइरहेको पनि उनले बताए ।