धरान:आफुलाई क्यानाडाको युनिभर्सिटी अफ टोरन्टोबाट पिएचडी गरेको बताउदै एक व्यक्तिले सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा १२ सय बढी मानिसहरुलाई ठगी गरेको खुलेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ का ४७ बर्षीय रामबली दनुवारले इनरुवामा एक संस्थाको शाखा कार्यालय खोलेर सिप तथा राहत वितरणको नाममा ११ सय ९७ जनालाई ठगी गरेका हुन् । उनले कर्मचारीकोरुपमा नियुक्ती गरेका अन्य थप ३७ कर्मचारी पनि ठगिएका छन् । ठगी गर्ने दनुवारलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरिसकेको छ । उनी पक्राउ परेपछि ठगी धन्दा सार्वजनिक भएको हो । प्रहरीका अनुसार दनुवारलाई आफु टोरन्टोबाट पिएडी गरेको भन्दै आफुलाई डा.रामबली कुमार सिंह भनेर चिनाउने गरेका थिए । तर उनको वास्तविक शिक्षा भने १० कक्षा पास मात्र भएको खुलेको छ ।

यस्तै, उनले भैरवाहमा केन्द्रीय कार्यालय रहेको भनिएको सरस्वती सिलाई प्रशिक्षण केन्द्रको नामबाट सर्वसाधारणहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ । दनुवारले केन्द्रको शाखा कार्यालय सप्तरीको माहुली(जण्डोल) र सुनसरीको इनरुवा १, महोत्तरीको गौसाला मिगोल, सिरहा र धनुषामा पनि शाखा कार्यालय खोलेर ठगी गरेको पाइएको सुनसरीका एसपी कमल थापाले जानकारी दिए । पक्राउ परेका दनुवारले संस्थाको शाखा स्थापना गरेर सिलाई बुनाई, साबुन बनाउने, मैनबत्ति बनाउने, राहत वितरण गर्ने नाममा सर्वसाधारणलाई ठगी गरेको पाइएको एसपी थापाले जानकारी दिए ।

thagi-1

प्रहरीका अनुसार आफु संस्थाको महानिर्देशक रहेको र तलब १ लाख डलर भएको भन्दै कागज देखाउने गरेका थिए भने केन्द्रमा स्वास्थ्य निरीक्षक, उपमहानिर्देशक, कार्यालय प्रमुख, सह कार्यालय प्रमुख, लेखापाल, स्वकीय सचिव, निरीक्षक, कार्यालय सहयोगी र गार्ड पनि नियुक्ती गरेर फिल्डमा कर्मचारी परिचालन गरेका थिए । तालिमको लागि प्रतिव्यक्ति एक हजारको दरले उठाउने गरेका दनुवारले कर्मचारीलाई दर्जा अनुसार ११ हजारदेखि ५४ हजारसम्म पारिश्रमिक तोकेका थिए । तर, उनले कार्यालयको घरभाडा, सवारीसाधनको भाडा र कर्मचारी कसैलाई पनि तलब नदिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दनुवारले इनरुवा १ मा घर भाडा लिएर शाखा कार्यालय स्थापना गरेका थिए । त्यहाँ उनले ३७ जना कर्मचारी नियुक्ती गरेका थिए भने सिप तथा राहत वितरणको नाममा ११ सय ९७ जनालाई ठगी गरेको सुचना पाएपछि उनलाई पक्राउ गरेको हो । प्रहरीले राहत रजिष्टार, फायल, प्रशिक्षण केन्द्रको लेटरप्याड, कर्मचारीको नियुक्तीपत्र, विभिन्न व्यक्तिको नागरिकता लगायत कागजात वरामद गरेको छ । उनलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।