धरान: उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो भने नेपालभरिको तेस्रो नगर हो । २०६४ मा संहिता लागु भएयता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित छन् ।

संहिता लागु हुनअघि निर्माण भएका धरानका घरहरु भने अझै असुरक्षित रहेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठका अनुसार संहिता लागु हुनुअघि धरानमा निर्माण भएका घरहरुको संख्या ९ देखि १० हजारको संख्यामा छ । ती घरहरु भुकम्पीय दृष्टिले असुरक्षित एवं उच्च जोमिममा छन् । २३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको कार्यक्रममा इञ्जिनियर श्रेष्ठले ती पुराना घरहरुलाई सुरक्षित बनाउन रेट्रोफिटिङ (भुकम्प प्रवलीकरण) गर्नुपर्ने सुझाव दिए ।

उनका अनुसार धरान पुरानो सहर भएकोले भवन संहिता लागु हुनुअघि बनेका घरहरु पिलर विनाका छन् । ‘ती घरहरुलाई भुकम्पीय प्रवलीकरण गर्न आवश्यक छ । त्यसको लागि राम्रो तयारी गर्नुपर्छ,’श्रेष्ठले भने । उनका अनुसार रेट्रोफिटिङ गर्नको लागि दक्ष जनशक्ति(मिस्त्री) आवश्यक पर्छ भने घरधनीलाई रेट्रोफिटिङ गर्नको लागि प्रोत्साहन गर्न राहत प्याकेज पनि दिनुपर्छ । ‘करमा छुट दिने जस्ता राहत प्याकेज ल्याउनुपर्छ, प्रोत्साहनको लागि । मुख्य कुरा सचेतना आवश्यक पर्छ, सामान्य मिस्त्रीले गर्न सक्दैनन्, बिशेष तालिम दिनुपर्छ । प्रक्रिया झञ्झटिलो पनि छ,’उनले भने ।

Dharan-city

प्रमुख अतिथि रहेका धरानका मेयर तिलक राईले पाठ्यक्रममा पाठकोरुपमा भुकम्पलगायत विपदको बिषयलाई समेट्न सके फलदायी हुने धारणा राखे । पाठ्यक्रम निर्माणको अधिकार स्थानीय सरकारमा भएकोले यसतर्फ ध्यान दिने उनले बताए । उपमेयर मञ्जु भण्डारी सुवेदीले भवन संहिता लागु भएको कारण जनतामा घर नक्सा पास हुन ढिलाई भएको गुनासो ज्यादै रहेको बताइन् । उनले बहुसरोकारवालाहरुसँग पनि अन्तक्रिया आवश्यक भएको बताइन् । सुनसरीका सिडिओ फडिन्द्रमणी पोखरेलले विपदलाई राज्यले मात्र व्यवस्थापन गर्न सम्भव नभएकोले घर घरमा विपद् स्वयंसेवी उत्पादन गर्नुपर्ने बताए । उनले पनि विपदलाई पाठ्यक्रममा समावेश गर्न सुझाव दिए ।

स्थानीय भवन निर्माण व्यवसायी संघका अध्यक्ष नारायण लिम्बुले पनि पाठ्यक्रममा विपद स्वयमसेवीको बिषयलाई थप्नुपर्ने सुझाव दिए । साथै उनले धरानको घरहरुमा माथिल्लो तलामा निलो टिनको छाना लगाउने चलन रहेको भन्दै हावाहुरी आउदा कति सुरक्षित छ भन्ने ध्यान दिन पनि सुझाव दिए । रेडक्रस सुनसरीका अध्यक्ष उमेश थापाले भुकम्पको क्षति बहुआयामिक र धेरै क्षेत्रमा पुग्ने भएकोले कसरी व्यवस्थापन गर्ने र प्रतिकार्य योजना बनाउनेतर्फ ध्यान दिन आग्रह गरे । उनले रेडक्रसले एक घर एक स्वयमसेवीको लक्ष्य राखेको भन्दै स्थानीय सरकारसँग सहयोगको आग्रह गरेका थिए ।