धरान: कोभिड १९ को महामारीको बेला पनि उपचार खटिएका स्वास्थ्यकर्मीहरुलाई जोखिम भत्ता नपाएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेसिडेन्टहरु आन्दोलित भएका छन् ।

प्रतिष्ठानको जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीले नेपालमा कोभिड महामारी शुरु भएपछि उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुले अहिलेसम्म जोखिम पत्ता नपाएको भन्दै आन्दोलनमा उत्रिएको हो । नेपाल सरकारले जोखिम भत्ता दिएर बजेट निकासा गरिसकेको र पटक पटक जोखिम भत्ता वितरण गर्न निर्देशन दिएपनि अहिलेसम्म वितरण नभएको सोसाइटीले जनाएकोछ । सोसाइटीका उपाध्यक्ष एवं प्रवक्ता डा.पदम नेपालीका अनुसार विगत ५,६ महिनादेखि नै जोखिम भत्ताबारे पटक पटक ध्यानाकर्षण, छलफल र विज्ञप्तीमार्फत भत्ताको लागि पहल गर्दा पनि हालसम्म नपाएपछि आन्दोलनमा उत्रनुपरेको बताए ।

जुनियर रेसिडेन्टहरुले माघ १ गतेदेखि कोभिड ड्युटी छोडेर आन्दोलनमा उत्रिएका छन् । प्रशासनसँग शुक्रबार वार्ता भएपनि ठोस निष्कर्ष ननिस्केको र आन्दोलनलाई निरन्तरता दिइएको उपाध्यक्ष नेपालीले जानकारी दिए । उक्त छलफलमा जोखिम भत्ता दिने भन्दा पनि प्रशासनले उधारो सम्झौता गर्ने मात्र कुरा भएपछि सहमति हुन नसकेको उपाध्यक्ष नेपालीले जानकारी दिए । ‘जोखिम भत्ता दिने कुरा गरेको १० महिना भइसक्यो, सरकारले बजेट पनि पठाइसकेको छ, तर अहिलेसम्म पाएका छैनौं,’प्रवक्ता नेपालीले भने,‘त्यसैले माघ १ गतेदेखिको कोभिड ड्युटी बहिष्कारको हाम्रो आन्दोलन जारी छ ।’covid-vatta