धरान: गए राती सोलुखुम्बुमा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

१ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुधकुण्ड नगरपालिका ७ स्थित २३.५ हाइड्रोबाट ११८६ भदौरे हाइड्रोमा जादै गरेको बा ४ ख ७९८० नम्बरको टिपर राती करिब ११ बजे दुर्घटनाग्रस्त भएको थियो । बरडाँडा गिद्देभिरमा आफै अनियन्त्रित भएर टिपर सडकबाट करिब १०० मिटर तल खसेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा टिपर चालक करिब ३२, ३३ बर्षका कमल मगर, टिपरमा सवार राजकुमार मगर र सप्तरीका सुरुंगा गाउँपालिका ८ का १९ बर्षीय कृष्णराज चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सोही टिफरमा सवार मकवानपुर बागमती गाउँपालिका ४ का २३ बर्षीय रमेश मगर गम्भीर घाइते भएका छन् । उनको सोलुस्थित फाप्लु अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त टिपर घटनास्थलमा नै रहेको छ । उक्त घटनास्थल जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुबाट करिब १५ किलोमिटर पुर्वदक्षिणमा पर्छ ।