विराटनगर: झापा र मोरङका छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले हिजो आईतवार साँझ पौने ६ बजे दमक १ का ३२ बर्षीय देवेन्द्र राईलाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ । यसैगरी झापाको गौरादह नगरपालिका १ मा पनि राती पौने ८ बजे गौरादह नगरपालिका ३ का २७ बर्षीय लक्ष्मण दास र १९ बर्षीय राम साहलाई २३ ग्राम २०० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । ब्राउनसुगरको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो राती पक्राउ गरेको थियो ।

यता, मोरङको रतुवामाई नगरपालिका २ डोरीयाबाट लागुऔषध ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । सिमा प्रहरी चौकी डोरीया मोरङबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले रतुवामाई नगरपालिका ९ का २४ बर्षीय दिपेश घिमिरे र २४ बर्षीय संजिव भट्टराईलाई २०० ट्याब्लेट लागुऔषधसहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।